नेप्से सामान्य अंकले बढ्याे, ७ अर्ब ८४ करोडकाे काराेबार

-



     सफल आवाज    
     चैत्र २१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २१ चैत्र । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएको छ। बुधबार पनि नेप्से उकालाे कै यात्रामा गएकाे थियाे ।

नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ । फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंकले बढेको छ।

आज कारोबार रकम पनि बढेको छ। बुधबार साढे ५ अर्बको काराेबार भएकाेमा आज ३२४ कम्पनीहरूकाे ६९ हजार ८९ पटकको कारोबारबाट रूपैयाँ ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार बराबरको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

ग्रीन भेन्चर्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ। कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ ८८ पैसा बढेर ५०५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ७.८५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेकाे छ । कम्पनीकाे ७२ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब ५६ करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ४ उपसमूहमा हरियाे लागेकाे छ । ९ उपसमूहमा राताे लागेकाे छ। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४५ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको परिसूचक भने १.६६ प्रतिशतले घटेको छ।