बझाङमा मुङखेती परीक्षण

-



     सफल आवाज    
     चैत्र २५ गते २०८१ मा प्रकाशित



चैनपुर (बझाङ), २५ चैत । कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो । यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ ।

सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ । कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ ।

समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो । गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्।

खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ । जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी गरिएको छ ।