
प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार एमाले झापाद्वारा दमकको पशुहाटमा आयोजित बृहत जागरण सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस प्रम ओली–जागरण सभा सम्बोधन झापा, ३० चैतः
झापा, ३० चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् ।
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएका’ टिप्पणी गरे ।
“देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ”, प्रधानमन्त्री ओलीले भने, “विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।”
प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताउनुभयो । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भने– “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ ।
अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।” भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको बताए। फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहो¥याउँदै एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुँदैन भने।
“एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ”, उनले भने । कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रियताका साथ परिचालित हुनुपर्ने बताए। प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।
एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे। “एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सिद्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन्”, उनले भने, “युवाले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ ।
आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।” एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत वक्ताले मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य व्यक्त गरे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




