
पोखरा, २४ पुस । पोखराको सबैभन्दा जेठो संघ पोखरा उद्योग वाणिज्य संघमा यतिबेला चुनावी रन्को छ । संघको ३३ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी २ वर्षका लागि २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन मतदान कार्यक्रम रहेको संघले जनाएको छ । उद्घाटन सत्र भर्चुअलमार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ भने भोलिपल्ट शनिबार बिहान १० देखि नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान कार्यक्रम रहेको छ ।
पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि पोखराका उद्योगी व्यवसायीलाई लागेको चुनावी रन्कोको नतिजा कुर्न अब २ दिन पर्खनुपर्नेछ । लामो समयको चुनावी प्रचारपछि उनीहरु अहिले अन्तिम कसरतमा छन् । चुनावमा नेतृत्वका लागि दुई प्यानल होमिएका छन् भने केही पदाधिकारी र सदस्यमा स्वतन्त्र उम्मेदवारी पनि छ ।
संघको आगामी दिनमा बागडोर हाँक्न अध्यक्ष पदमा नारायण कोइराला र अर्कोतर्फ बिन्दु कोइराला सुवेदीको प्यानल अन्तिम समयसम्म पनि मतदाता फकाउँदैछन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सफल आवाजसँगको कुराकानीमा उनीहरु दुवैले आ–आफूले जित्ने दाबी गरेका छन् । नारायण कोइराला हाल संघमा वरिष्ठ उपाध्यक्ष छन् भने बिन्दु उद्योगतर्फ उपाध्यक्ष हुन् । रोचक के छ भने दुवै उम्मेदवार २०६३–०६५ कै कार्यसमिति सदस्यबाट छिरेका हुन् ।
नारायण कोइराला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पवन कुमार प्रजापति निर्विरोध हुँदा उपाध्यक्षमा अर्जुन पोखरेल (वाणिज्य), उपाध्यक्ष चिनुकुमारी गुरुङ (उद्योग), महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री चुनावी मैदानमा छन् ।
उता, बिन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिव धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बर्तौलाको उम्मेदवारी छ ।
यसरी संघको चुनावमा उपाध्यक्ष (वाणिज्य) तर्फ अर्र्जुन पोखरेल र सोवित पौडेलबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष (उद्योग) मा चिनुकुमारीसँग स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण कार्कीको भिडन्त हुनेछ ।
महासचिवमा सुरेन्द्रमान बिजुक्छे र धनीराम बराल, कोषाध्यक्षमा बलराम आचार्य र तारानाथ ढुंगाना तथा उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौलाबीच कडा प्रतिष्पर्धा छ ।
यसैगरी, १० कार्यकारिणी सदस्यका लागि नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला चुनावी मैदानमा छन् ।
उता, बिन्दु कोइराला प्यानलबाट पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की रहेका छन् ।
सदस्यमा कुल १६ जनाको उम्मेदवारी परेकोमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्गको स्वतन्त्र उम्मेदवारी हो । उनीहरु दुवै जना कुनै प्यानलमा खुलेका छैनन् ।
संघमा वस्तुगत सदस्यतर्फ उदयबहादुर केसी, उमापति ढकाल, राजन गोंगजु, रामबहादुर केसी, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला र रुपनारायण भुजेलको उम्मेदवारी परेको छ । तीमध्ये ४ जना निर्वाचित हुने छन् ।
यस्तै, २ वस्तुगतमा कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध भए । उनीहरु दुवै जना नारायण कोइराला प्यानलका हुन् ।
औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भैसकेका हुन् ।
संघमा निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत हुने व्यवस्था छ । मनोनयनमा ४० जनाले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै शनिबार प्रदर्शनी केन्द्रको ३ स्थानमा मतदान व्यवस्था मिलाइएको छ । समितिका अनुसार मतदान केन्द्र १ मा क्रमसंख्या १ देखि १२०० सम्म, मतदान केन्द्र २ मा १२०१ देखि २४०० सम्म र मतदान केन्द्र ३ मा सम्पूर्ण कर्पोरेट, वस्तुगत, औद्योगिक सदस्य र मतदाता क्रम संख्या २४०१ देखि २९४० सम्मले मतदान गर्न पाउनेछन् । मतगणना कार्य आइतबार हुनेछ ।
संघका महासचिव अर्जुन पोखरेलले महाधिवेशन सम्पन्न गर्न सम्पूर्णबाट आवश्यक सहयोगको लागि अपील गरेका छन् । प्रशासन कार्यालयले पनि आवश्यक सुरक्षा व्यवस्था अपनाउँदै महाधिशन गर्न स्वीकृति दिएको हो ।
‘पोखरालाई व्यवस्थित सहर बनाउनु छ’
नारायण कोइराला
(अध्यक्षका प्रत्यासी)

२०६३ सालमै कार्यसमिति सदस्य हुँदै विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । २०६९–०७१ सालमा महासचिवको जिम्मेवारीमा थिएँ । २०७३ को चुनावमा भने अध्यक्ष पदबाट पराजित भए पनि हाल वरिष्ठ उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारीमा छन् । व्यवसायीहरुको आग्रहमै पुनः चुनावी मैदानमा होमिएको हुँ । यसपालि नेतृत्वमा मेरो जित सुनिश्चित छ । व्यवसायीको हकहितको लागि संघको भूमिका महत्वपूर्ण छ । पोखराको फुटपाथ समस्या, पार्किङ, महँगो भाडा तिरेर व्यवसाय गर्नुपर्ने बाध्यता, मजदुरको दक्षता अभाव समस्याबारे म जानकार छु । त्यसको समाधानका मेरो पहल हुनेछ । कोभिड–१९ ले आक्रान्त परेको अवस्थामा लगानीमैत्री वातावरण कायम गर्नुपर्ने टड्कारो आवश्यकता छ । साथै गण्डकी प्रदेशकै राजधानी पोखरालाई आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समग्र क्षेत्रमा व्यवस्थित सहर बनाउनुपर्छ ।
‘संघ सबैको साझा हुनुपर्छ’
विन्दु कोइराला सुवेदी
(अध्यक्षका प्रत्यासी)

२०६३ सालमा भएको संघको चुनावदेखि कार्यसमिति सदस्य हुँदै हालसम्म विभिन्न पदमा रहेर काम गरेकी छु । संघमा मेरो १४ वर्षसम्मको इतिहास कायम रहेको सबैजनालाई जगजाहेर छ । महिला उद्यम विकास उपसमितिको सदस्यको रुपमा पनि काम गरेको हेर्दा १६ वर्ष भयो । ७ कार्यकाल पूरा भयो । संघको वाणिज्य र उद्योग दुवैमा गरी दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर भूमिका निर्वाह गरेँ । हाल उद्योगतर्फ उपाध्यक्ष छु । संघ सबैको साझा थलो हुनुपर्छ भनी मेरो उम्मेदवारी हो । मेरो जित सुनिश्चित छ । कोभिड–१९ ले धरासायी बनेको उद्योग व्यवसाय पहिलेकै ठाउँमा ल्याउन पहल गर्नेछु । महिलासहित समग्र उद्योगी व्यवसायीको हकहितको लागि देखिने गरी काम गर्नेछु । संघमा राजनीति हावी हुनुहुँदैन भन्ने माग आयो । त्यसैले कुनै राजनीति पार्टीभन्दा पनि स्वतन्त्र ढंगले उम्मेदवारी दिएकी हुँ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



