ट्रम्पविरुद्ध दोस्रो महाअभियोग सोमबार

-



     मनाेज अधिकारी    
     पौष २५ गते २०७७ मा प्रकाशित



बोस्टन, अमेरिका, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदमा आगामी सोमबार महाअभियोग प्रस्ताव लैजाने तयारी थालिएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट ट्रम्पलाई बाँकी कार्यकाल अगावै पदमुक्त गर्ने प्रयासस्वरुप महाअभियोग प्रस्ताव आउन लागेको हो ।

आफ्नो कार्यकाल १० दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्पले सोमबार दोस्रोपल्ट महाअभियोगको सामना गर्नुपर्ने भएको छ । उनीविरुद्ध सन् २०१९ को डिसेम्बरमा पनि डेमोक्रेटिक दलले महाअभियोग लगाउन प्रस्ताव ल्याएका थिए । यद्यपि उक्त प्रस्ताव पारित भने भएन ।

गत बुधबार संसदका दुवै सदन चलिरहेको बेला उनका समर्थकले हुलदंगा गरेपछि यसको चौतर्फी आलोचना भएको छ । ट्रम्पको उक्साहटमा उक्त घटना भएकाले उनी राष्ट्रपति पदमा बस्न अयोग्य रहेको र उनीबाट थप सम्भावित खतरा समेत हुने आंकलन सहित महाअभियोग लगाउन खोजिएको डेमोक्रेडिक दलले बताएको छ ।

ट्र्रम्प राष्ट्रपति पदका लागि अयोग्य रहेको भन्दै उनलाई तत्काल पदमुक्त गर्नुपर्ने आवाज उनकै पार्टी रिपब्लिकनदेखि विभिन्न राज्यका गभर्नरहरुसम्मले उठाएका छन् । उनीहरुले मन्त्रिपरिषद्को २५ औं संशोधन प्रयोग गरि ट्रम्पलाई तत्काल बर्खास्त गर्न सकिने भन्दै त्यसतर्फ अग्रसर हुन आव्हान गरेका छन् ।

त्यसका लागि संसद्की सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति माइक पेन्सलाई आग्रह गरेकी छिन् । पेन्सले यसतर्फ कदम चाल्ने ईच्छा देखाएको पाइएको छैन । त्यसैले आफुहरु सोमबार ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव लगाउने तयारीमा रहेको सभामुख पेलोसीले जानकारी दिएकी छिन् ।

यो प्रक्रिया औपचारिक रुपमा संसदका दुवै सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटमा छलफल भई दुई तिहाईले पारित हुनु पर्नेछ । यसो भएमा वर्तमान उपराष्ट्रपति माइक पेन्स छोटो अवधिका लागि कार्यकारी राष्ट्रपति बन्न सक्ने छन् ।

गत नोभेम्बरको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन् । ट्रम्प जनवरी २० मा पदमुक्त हुँदैछन् ।