जनकपुरमा खुल्याे राष्ट्रिय कृषि कम्पनी लिमिटेडको मधेस प्रदेश कार्यालय

-



     सफल आवाज    
     वैशाख १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेस प्रदेश कार्यालय जनकपुरकाे भानु चोकमा खुलेकाे छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले उक्त मधेस प्रदेश कार्यालयकाे शुभारम्भ गरेकाे कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईले बताएका छन ।

विभिन्न क्षेत्रका करिब ५०० जना सहभागी रहेको उक्त शाखा उद्घाटनको अवसरमा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले समाज विकास तथा वातावरण सुधार नेपालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सतीश कुमार सिंहले मधेस प्रदेशसहित देशभरको कृषि अवस्था सुधार्न र किसानहरूको जीवनस्तर उकास्न निजी क्षेत्र र सरकारी निकायहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, विचौलिया प्रथाको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।

कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंले आफ्नो मन्तव्य राख्दै हालको अवस्थामा किसानहरूले उचित मूल्य नपाएको र उपभोक्ताहरूले गुणस्तरहीन वस्तुहरू महँगोमा खरीद गर्नुपरेको अवस्थाको चर्चा गरेका थिए।

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले किसान सशक्तिकरण, उपभोक्ता जागरण र कृषि आधुनिकीकरण कार्यक्रममार्फत किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्न पुलको भूमिका खेलिरहेको उनले जानकारी दिए ।

उनले कृषिक्षेत्रलाई गर्वको पेशा बनाउँदै देशको स्रोत र साधनको उच्चतम प्रयोग गरी उत्पादकत्व वृद्धि गर्दै नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउने अभियानमा कम्पनीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष हुमागाइले कम्पनीलाई आजको अवस्था सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण प्रवर्धक, शेयरधनी, कर्मचारी, शुभचिन्तक र कार्यक्रमका लागि स्थान उपलब्ध गराउने जनकपुर उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गरे ।

हाल करिब २२०० संस्थापक शेयरधनी ५० करोडको पूँजी रहेकाे राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले २०८१ साल वैशाख २७ गते स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो । “कृषि भनेको कर्तव्य हो, पेशा होइन” भन्ने मूल मन्त्रका साथ स्थापित यस कम्पनीले कृषि उत्पादन, प्रशोधन, वितरण, पोस्ट–हार्भेस्ट संरक्षण, कृषि पर्यटन, तथा डिजिटल कृषि प्रवद्र्धन जस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कम्पनीले ताजा उत्पादनको होम डेलिभरी सेवा, कृषि शीत भण्डारण, कम्पोस्ट मल र च्याउ उत्पादन, क्यानिङ्ग प्लान्ट स्थापना, किसान सशक्तिकरण कार्यक्रम तथा ई–कमर्स एप विकासमार्फत कृषक र उपभोक्तालाई सिधा जोड्न प्रयासरत छ । कम्पनीको दृष्टिकोण नेपाललाई कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर बनाउँदै दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्नु रहेको छ ।

कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद कुमार यादव, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, समाज विकास तथा वातावरण सुधार नेपालका अध्यक्ष प्रा.डा. मनोज हुमागाईं, जिल्ला सहकारी संघ महोत्तरीका अध्यक्ष लक्ष्मण यादव, कम्पनीका सञ्चालक सुदिप सापकोटा र मधेस प्रदेश प्रमुख रविन्द्र पजियारकाे सहभागिता रहेकाे थियाे ।

कम्पनीका सचिव विष्णु बरालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक कार्यक्रम तथा कृषि विषयमा आधारित नाटक पनि प्रस्तुत गरेका थिए ।