पर्यटन प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गन्तव्यमा बस सञ्चालन गर्ने

-



     सफल आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ पुस । नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिइएको हो ।

काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी एकजुट हुनुपर्ने बताए ।

“कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले राहत ल्याउन सकेन, पर्यटन क्षेत्रलाई बचाउनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ”, उनले भने । निजी क्षेत्र र सरकारी निकायबीच आवश्यक परामर्श तथा छलफल हुन नसक्दा पर्यटन क्षेत्रमा समस्या आएको उहाँको भनाइ थियो । एशोसिएशनका अध्यक्ष ईश्वर शर्माले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पु¥याउनका लागि सम्पूर्ण पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको उहाँको भनाइ छ । एशोसिएशनका पूर्वअध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष ढकनाथ काफ्लेलगायतले आन्तरिक पर्यटन क्षेत्रमा लहर ल्याउन नसके पर्यटन क्षेत्रलाई बचाउन नसकिने बताए ।