
चितवन, २२ फागुन । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् ।
नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।
एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए ।
कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ । “यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने÷नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उनले भने।
अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्याङ्कनकर्ताहरूलाई बैङ्कहरूले कालोसूचीमा राख्न नहुने बताए ।
केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैङ्क र बैङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए। उनले भने, “बैङ्कहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।”
अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैङ्कहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ ।
एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैङ्कहरूले कारबाही गर्ने गरेको बताए। पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा समस्या भएको उहाको भनाइ छ ।
एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैङ्कका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैङ्कहरूले गरेको उल्लेख गरे । बैङ्कहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।
चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताए।
नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैङ्कहरूले बुझ्नुपर्ने बताए । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् ।








काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने… 




