पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा ७५ प्रतिशत मतदान, मतगणना आइतबार

- ३१५४ मत मध्ये मतदानमा २३६५ मत खस्याे

-



     सफल आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ पुस । पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत दोस्रो दिन मतदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा नयाँबजारमा शनिबार बिहान १० देखि ४ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएकाे छ । मतगणना आइतबार बिहान १० बजेदेखि सुरु हुनेछ । कुल ३ हजार १ सय ५४ मत मध्ये मतदानमा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले बताए।

मतदान स्थल प्रवेश गरेका मतदाताहरु साँझ ६ बजेसम्म मतदान गर्न लाइन बसेका थिए । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले कोभिड–१९ को परवाह नगरी ब्रोसर, पम्प्लेट, कार्डलगायत वितरण गरेको पाइन्थ्यो । संघको २९ सदस्यीय कार्यसमितिको लागि संघको आगामी बागडोर हाँक्न अध्यक्षमा नारायण कोइराला र अर्कोतर्फ बिन्दु कोइराला सुवेदीबीच प्रतिष्पर्धा छ ।

नारायण कोइराला हाल संघमा वरिष्ठ उपाध्यक्ष छन् भने बिन्दु उद्योगतर्फ उपाध्यक्ष हुन् । नारायण कोइराला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पवन कुमार प्रजापति निर्विरोध हुँदा उपाध्यक्षमा अर्जुन पोखरेल (वाणिज्य), उपाध्यक्ष चिनुकुमारी गुरुङ (उद्योग), महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री चुनावी मैदानमा छन् ।

उता, बिन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिव धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बर्तौलाको उम्मेदवारी छ । यसरी संघको चुनावमा उपाध्यक्ष (वाणिज्य) तर्फ अर्जुन पोखरेल र सोवित पौडेलबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष (उद्योग) मा चिनुकुमारीसँग स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण कार्कीको भिडन्त हुनेछ । महासचिवमा सुरेन्द्रमान बिजुक्छे र धनीराम बराल, कोषाध्यक्षमा बलराम आचार्य र तारानाथ ढुंगाना तथा उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौलाबीच कडा प्रतिष्पर्धा छ ।

यसैगरी, १० कार्यकारिणी सदस्यका लागि नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला चुनावी मैदानमा छन् । उता, बिन्दु कोइराला प्यानलबाट पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की रहेका छन् । सदस्यमा कुल १६ जनाको उम्मेदवारी परेकोमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्गको स्वतन्त्र उम्मेदवारी हो । संघमा वस्तुगत सदस्यतर्फ उदयबहादुर केसी, उमापति ढकाल, राजन गोंगजु, रामबहादुर केसी, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालकृष्ण कोइराला र रुपनारायण भुजेलको उम्मेदवारी परेको छ । तीमध्ये ४ जना निर्वाचित हुने छन् ।

यस्तै, २ कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध भए । उनीहरु दुवै जना नारायण कोइराला प्यानलका हुन् । औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भैसकेका हुन् । संघमा निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।