चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

-



     सफल आवाज    
     जेठ १ गते २०८२ मा प्रकाशित



चितवन, १ जेठ । चितवन जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनदेखि हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो । जिल्लाको समग्र विकासका लागि ८ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६ सय ९१ विनियोजन गरिएको थियो ।

जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए । यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ ।

चालु खर्चका लागि १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब ५१ करोड ९५ लाख २० हजार खर्च भएको छ ।