गण्डकी र कोशी सरकारको बजेट बहुमतले पारित

-



     सफल आवाज    
     असार १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, १३ असार । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो ।

यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गरेको थियो । आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताए। पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उनको भनाइ थियो ।

“कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वभाविक हो, गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो”, मुख्यमन्त्री पाण्डेले भने। भौतिक पूर्वाधारतर्फ रु ५० लाखभन्दा कमका योजनामा बजेट नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले आगामी आव २०८२÷८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको थियो ।

कोशी प्रदेशसभाः विनियोजन विधेयक बहुमतले पारित

कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ । सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो ।

उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरे। यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गरे। “बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ”, उनले भने, “नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व सङ्कलन गर्न प्रदेश सरकार योजनाबद्ध रुपमा लाग्नेछ ।”