
काठमाडौं, २० साउन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
आज नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
सरकारले उज्यालो दिन नसकेको ठाउँमा सौर्य विद्युत् उत्पादनमार्फत सङ्घले भूमिका निर्वाह गरेको मन्त्री खड्काले उल्लेख गरे। सिँचाइ पु¥याउन नसकेको स्थानमा सौर्य उर्जा प्रणालीमार्फत सिञ्चित गरेर सङ्घले योगदान गरेकामा उहाँले आभार व्यक्त गरे। सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा सङ्घको निरन्तर सहयोग र सहकार्य अपरिहार्य हुने उनको भनाइ छ ।
दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले स्पष्ट पारे। “स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्त्वपूर्ण छ, हामी जलविद्युत्मा जति अगाडि बढ्दैछौँ, सौर्य ऊर्जा त्यत्तिकै महत्वको विषय हो, जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ,” उनले भने।
ऊर्जामन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैङ्किङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरे। सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा जनताको सहभागिता बढाउन आवश्यक रहेको बताए। विसं २०५७ सालमा स्थापना भएको उक्त सङ्घमा हाल १३५ कम्पनी आबद्ध छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



