विद्युत् डिमान्ड शुल्कमा आजदेखी छुट, कस्ता उद्योगले पाउछन यो सहुलियत ?

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ५ माघ । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा आजदेखि छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन हुने भएको छ ।” अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा मन्त्रालयमा भएको सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीबीचको छलफलले विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको थियाे ।

अर्थमन्त्री पौडेलले यस निर्णयको कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरोत्थानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । बैठकमा औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ । चालू आवको बजेटमा कोभिड– १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको बन्दाबन्दी अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी थिए ।