गोल्याण ग्रुपको नेतृत्व युवामा हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण बने नयाँ अध्यक्ष

-



     सफल आवाज    
     मंसिर २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २७ मङ्सिर। नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएकाे छ । साे परिवारबाट ३७ वर्षीय अक्षय गोल्याण अध्यक्षमा बनेका छन्।

उनी ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका थिए । काँधमा जिम्मेवारी थपिएपछि उनले ६ दशक लामो व्यावसायीक यात्रा पार गरेकाे ग्रुपकाे नेतृत्व गर्ने भएकाछन्। गोल्याण ग्रुपभित्र उनकाे बारेमा नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको भनिएकाे छ।

वार्षिक उत्सवको अवसरमा ग्रुपले शुक्रबार एक विज्ञप्ति जारी गरेर पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई अध्यक्षमा चयन गरिएको औपचारिक रुपमा घोषणा गरे। 

विज्ञप्तिमा भनिएकाे छ, ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा लेखिएकाे छ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको ESADE यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन्। अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ। 

गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो। ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन्। ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ। 

नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, ‘गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं। हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ।’

सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ। नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर सञ्चालक समितिले उक्त सम्मान दिएको जनाएको छ। नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूलमर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। 

‘पवन गोल्याणज्यू ‘अध्यक्ष एमरिटस’ को भूमिकामा रहनु आफैमा उत्कृष्टताको निरन्तरता हो, ग्रुपले उहाँको रणनीतिक सुझाव र अनुभवको लाभ लिइरहनेछ,’ उनले भनेका छन्, ‘यसले ऊर्जा, कृषि, उत्पादन र निर्यात लगायतका क्षेत्रमा ग्रुपको विस्तारलाई थप मजबुत बनाउनेछ। निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि काम गरिरहनेछौं।’