
पोखरा, १० माघ । कोरोना भाइरस महामारीका कारण पर्यटकीय नगरी पोखरामा अघिल्लो वर्षकाे तुलनामा सन् २०२० मा विदेशी पर्यटक आवागमनमा भारी गिरावट आएको छ । सन् २०१९ काे तुलनामा २०२० मा पोखरा घुम्ने विदेशी पर्यटकको संख्या ८६ प्रतिशतले घटेको हो।
पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सन् २०२० मा हवाई उडानमार्फत २५ हजार ५ सय ८५ विदेश पर्यटक पोखरा भित्रिएका थिए । अघिल्लो वर्ष भने ८२ हजार ३ सय १ जना आएका थिए।
यस्तै सन् २०२० मा पोखराबाट हवाई उडान हुँदै १६ हजार २ सय ४७ जना काठमाडौं, चितवन, भैरहवा लगायत क्षेत्रतर्फ बाहिरिएको सुवेदीले जानकारी दिए । अघिल्लो वर्ष यहाँबाट १ लाख ११ हजार १ सय ४१ जना बाहिरिएका थिए।
सुवेदीका अनुसार कोरोना महामारी केही कमी हुँदै गएपछि पछिल्लो ४ महिनायता पोखरामा हवाइ उडानमार्फत २ सय २५ विदेशी पर्यटक आएका छन् । तर यो संख्या सन्तोषजनक हैन । दसैं तिहारको बेलामा आन्तरिक पर्यटकको घुइँचो रहेको पोखरामा विदेशी पर्यटकको संख्यामा कमी हुनुले यहाँको पर्यटन व्यवसाय धान्न नसक्ने पर्यटन व्यवसायीहरु बताउँछन्।
यसरी हेर्दा अघिल्लो वर्ष तुलनामा सन् २०२० मा हवाई उडानबाट ८६ प्रतिशत पर्यटक आगमनमा गिरावट आएको पाइन्छ । उडानमा लामो समयसम्म रोक लगाइँदा हवाई उडान पनि ७२ प्रतिशतले कमी हुन गयो । सन् २०१९ मा पोखराबाट ३९ हजार ९ सय २० वटा हवाई उडान भएको थियो । त्यस्तै, सन् २०२० मा ११ हजार १ सय १८ वटा मात्र हवाई उडान भयो।
नेपाल सरकारले २० लाख पर्यटक भित्राउने महत्वाकांक्षासहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेकोमा सुरुकै महिनाबाट कोरोना प्रभाव पर्यो । लकडाउन हुनुअघि सन् २०२० जनवरीमा ३ हजार ६५ हवाई उडानमा १३ हजार २ सय ५६ विदेशी पर्यटक आइसकेका थिए । अघिल्लो वर्षको सोही अवधिमा २ हजार ९ सय १० उडानबाट मात्र १२ हजार ९ सय ५५ विदेशी पर्यटकले पोखरा घुमेका थिए । सन् २०१९ फेब्रुअरीमा हजार ७ सय ४८ वटा हवाई उडान भएकोमा पछिल्लो वर्ष सोही महिनामा २ हजार ३ सय ८१ उडान भयो ।
सन् २०२० अप्रिल, मे, जुन, जुलाई र अगस्टमा पोखरामा न्यून संख्यामा हवाई उडान भयो । त्यसबेला १ जना पनि विदेशी पर्यटकले यात्रा गरेनन्। कोभिड–१९ प्रभावका कारण लामो समय उडान प्रभावित हुँदै आएकोमा सरकारले गत असोजदेखि मात्र आन्तरिक हवाइ उडान खुला गरेको हो । तैपनि विदेशी पर्यटकको आवागमन सन्तोषप्रद छैन।
पोखरालाई आधार बनाएर प्रभु हेलिकोप्टर, बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयरले उडान भर्ने गर्दछन् । पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, जोमसोम, विराटनगर सिधा हवाई उडान सुविधा छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



