राष्ट्रिय वाणिज्य बैंक ५६औं बर्षमा प्रबेश,अब अनलाइनबाटै बैंक खाता खाेल्न सकिने

-



     सफल आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० माघ।सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैंक ५६औं वर्षमा प्रवेश गरेको छ । सेवाको ५६औं वर्ष प्रवेशको अवसरमा बैंकले अनलाइनबाटै खाता खाेल्न सकिने नयाँ सेवा सुरू गरेकाे छ ।अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त सेवाकाे आज भर्चुअल माध्यामबाट उद्घाटन गरेका थिए।

बैंकिङ सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अगाडि बढेको याे बैंककाे २०७७ पाैष मसान्तसम्म कुल निक्षेप २ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । बैंकले हालसम्म १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

२४५ वटा शाखा सञ्जाल र २०५ एटिएम रहेकाे राष्ट्रिय वाणिज्य बैकले हाल माेबाइल बैंकिङ सहित करिब ४५ लाख सेवाग्राहीलाइ बैंकिङ सेवा प्रदान गरिरहेको बताइएकाे छ । बैंकमा ३ हजार ६ सय ३५ जनाले प्रत्यक्ष रोजगारीमा छन् ।

बैंकले आगामी दिनहरूमा थप गुणस्तरीय, आधुनिक, दीगो एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएकाे छ ।

भौतिक रुपमा लिइरहेकाे बितिय सेवा सुविधाहरु डिजिटल हुँदा अहिले नयाँ पुस्तामात्र नभई पुरानापुस्ता समेत यसमा आकर्षित हुन थालेको राष्ट्रिय बाणिज्य बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख ऋषिराम ढकालले सफल आवाजलाई बताए।

राष्ट्रिय वाणिज्य बैंकले स्थापनादेखिनै डिजिटल प्रविधिमा केहि न केहि अभ्यास गर्दै आइरहेको र हाल सबै जिल्लामा पुगेका बैंकका शाखाले डिजिटल बैकिङ्गको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेकाे ढकालले जानकारी दिए ।