
काठमाडौं, २६ फागुन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ ।
निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटी आएका कर्मचारीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै उहाँले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र रु भन्ने प्रश्न आम रुपमा भए पनि छ महिनाबीचमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो ।
“भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो, निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरु एक ठाउँमा बस्न सक्ने अवस्था थिएन, आयोगले नै दलहरुलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो”, उहाँले भन्नुभयो, “आजको परिणाम ल्याउन हामी सफल भएका छौँ ।” निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको उहाँले जानकारी गराउनुभयो ।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिमवर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताउनुभयो । निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न भएसँगै काज फिर्ता सुरु भएको जानकारी उहाँले दिनुभयो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




