कामना सेवा विकास बैंकको खुद नाफा ५८ करोड ८६ लाख

-



     सफल आवाज    
     वैशाख ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ बैशाख। कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ भने कर्जा विस्तार र व्यवसायिक गतिविधि बढेसँगै ब्याज आम्दानीमा सुधार हुँदा समग्र सञ्चालन आम्दानी पनि बढेको बैंकले जनाएको छ। बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब रुपैयाँभन्दा माथि पुगेको देखिन्छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा तथा करअघिको नाफा दुवै सकारात्मक रहेका छन्। कर कट्टापछि बैंकले ५८ करोडभन्दा बढी खुद नाफा कायम गर्न सफल भएको हो।

वित्तीय सूचकहरूतर्फ हेर्दा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँभन्दा माथि रहेको छ भने पूँजी पर्याप्तता अनुपात १३ प्रतिशतभन्दा माथि कायम रहेको छ। यद्यपि, निष्क्रिय कर्जा (एनपीएल) दर करिब ४.४ प्रतिशत पुगेकोले कर्जा गुणस्तरमा केही दबाब देखिएको छ।