महालेखापरीक्षक प्रतिवेदन : ९१ अर्ब बेरुजु थपियो, अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब

- आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड

-



     सफल आवाज    
     जेठ १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ जेठ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच संविधानको धारा २९४ को उपधारा (१) बमोजिम उक्त प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दो बेरुजुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सरकारी खर्चमा देखिएको बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर भएको औंल्याउँदै वित्तीय अनुशासन कायम गर्न पदाधिकारीहरू अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए।

लेखापरीक्षणको आकार: ९४ खर्ब ६२ अर्बको हिसाब

महालेखापरीक्षकको कार्यालयले यस वर्ष कूल ५ हजार ७ सय ५९ वटा निकायको लेखापरीक्षण सम्पन्न गरेको छ। जसमा संघीय, प्रदेश, स्थानीय तह र संगठित संस्थाहरू गरी कूल ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको परीक्षण गरिएको छ।

लेखापरीक्षणको वर्गीकरण:

  • संघीय मन्त्रालय तथा निकाय: ३ खर्ब १० अर्ब ६१ करोड
  • प्रदेश: ३० अर्ब ८५ करोड
  • स्थानीय तह: ११ खर्ब १८ अर्ब ४६ करोड

बेरुजुको भयावह अवस्था: एकै वर्ष ९१ अर्ब थपियो

यस वर्ष मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ नयाँ बेरुजु देखिएको छ, जुन लेखापरीक्षण गरिएको अंकको १.८१ प्रतिशत हो। गत वर्षको तुलनामा दरमा सामान्य कमी (१.८९% बाट १.८१%) आए पनि रकमको हिसाबले यो निकै चुनौतीपूर्ण रहेको प्रतिवेदनले जनाएको छ।

बेरुजुको वर्गीकरण:

  1. असुल गर्नुपर्ने: ३० अर्ब १२ करोड (३२.८९%)
  2. नियमित गर्नुपर्ने: ५६ अर्ब १२ करोड (६१.२७%)
  3. पेश्की बाँकी: ५ अर्ब ३४ करोड (५.८४%)

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु

संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयमा देखिएको छ। एक्लो अर्थ मन्त्रालयको मात्रै ३३ अर्ब ७१ करोड रुपैयाँ बेरुजु छ, जुन संघीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.६१ प्रतिशत हिस्सा हो। हालसम्मको कूल अद्यावधिक बेरुजु अब ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

नवीन प्रविधि र सुधारका प्रयास

महालेखापरीक्षक रायाका अनुसार कार्यालयले अहिले आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ:

  • NAMS प्रणाली: ‘नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली’ मार्फत जोखिममा आधारित लेखापरीक्षण सुरु।
  • फेसलेस अडिट: भौतिक उपस्थिति बिना नै गरिने अडिटलाई प्राथमिकता।
  • संयुक्त टोली: ४१ जिल्लामा स्थलगत लेखापरीक्षणका लागि संयुक्त टोली परिचालन।

जनशक्ति र आगामी चुनौती

प्रतिवेदनले कार्यालयमा रहेको जनशक्ति अभावलाई पनि उजागर गरेको छ। स्वीकृत ६ सय ४३ दरबन्दीमध्ये ५७ पद अझै रिक्त छन्। राष्ट्रपति पौडेलले आगामी दिनमा संस्थागत सक्षमता बढाउँदै आन्तरिक सुशासन कायम गर्न कार्यालय थप क्रियाशील हुनुपर्ने सुझाव दिएका छन्। प्रतिवेदनले सार्वजनिक खरिद, आयोजना व्यवस्थापन र वैदेशिक सहायताको उपयोगमा व्यापक सुधार गर्नुपर्ने औंल्याएको छ।