
काठमाडौं, ५ जेठ । देशका सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले भौगोलिक रूपमा विकट तथा दुर्गम बस्तीहरूमा आफ्नो सेवा तीव्र रूपमा विस्तार गरिरहेको छ ।
व्यावसायिक लाभभन्दा पनि ‘डिजिटल विभेद’ न्यूनीकरण गर्ने सरकारको प्राथमिकताअनुसार टेलिकमले हेलिकप्टरबाट उपकरण ओसारेर तथा नवीनतम प्रविधिको प्रयोग गरेर दूरदराजमा इन्टरनेट र मोबाइल सेवा पुर्याइरहेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत दुर्गममा डिजिटल पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशन र मन्त्रालयको समन्वयमा नेपाल टेलिकमले देशैभर फोरजी सेवा पूर्ण कार्यान्वयन गर्ने र फाइभजी सेवाको सुरुवात गर्ने योजनामा काम गरिरहेको छ । फाइभजीका लागि ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गरी प्रविधिको मार्ग प्रशस्त समेत गरिएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीका अनुसार भौगोलिक अवस्थाको मूल्याङ्कन गरी सम्भव भएसम्म ‘अप्टिकल फाइबर’, विद्युत् नभएका ठाउँमा ‘सोलार टावर’ र दुर्गम क्षेत्रमा ‘भिस्याट (VSAT)’ प्रविधिमार्फत सेवा उपलब्ध गराइँदै आएको छ ।
३,९०० मिटर उचाइका दुर्गम बस्तीमा फोरजी
हालै मात्र डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लाहाँ तथा ठूलीभेरी नगरपालिकाको दुनै क्षेत्रमा समुद्र सतहदेखि करिब ३,९०० मिटरको उचाइमा सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।
- त्रिपुरासुन्दरी (लाहाँ): जलविद्युत् र १८ मिटर पोल जडान गरी टुजीबाट फोरजीमा स्तरोन्नति गरिएपछि लाहाँ, खादाङ, फुल्चिङ, पालङ गाउँ तथा जाजरकोट–डोल्पा राजमार्गका करिब २५० घरधुरीका १,२०० प्रयोगकर्ता लाभान्वित भएका छन् ।
- ठूलीभेरी (थाला डाँडा): उच्च क्षमताको सौर्य ऊर्जा प्रणाली र २५ मिटरको टावर जडान गरी फोरजी सुरु गरिएको छ । यसबाट थाला गाउँ, लोचा, तिप्ला, कुल्मी तथा काइके गाउँपालिकाका विभिन्न बस्ती र दुनै सहरतारा पदमार्गका ८०० घरधुरीका ३,२०० भन्दा बढी मोबाइल प्रयोगकर्ता लाभान्वित भएका छन् ।
पदमार्ग र पर्यटकीय क्षेत्रमा सञ्चार क्रान्ति
पूर्वी नेपालका दुर्गम हिमाली तथा पर्यटकीय क्षेत्रमा पनि नेटवर्क सुविधा विस्तार गरिएको छ:
- ताप्लेजुङ: ३,४०० मिटर उचाइमा रहेको ओलाङचुङगोला, प्रसिद्ध पाथिभरा मन्दिर क्षेत्र र ३,८५० मिटर उचाइको घुन्सामा फोरजी सेवा सुरु भएको छ । यसबाट कञ्चनजङ्घा आधार शिविर, याङमा, र ग्रेट हिमालय ट्रेल जाने पर्यटक तथा स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
- सङ्खुवासभा: मकालु गाउँपालिका–२ को चेक्सेडाँडामा नयाँ बिटीएस टावर सञ्चालनमा ल्याई मकालु बेस क्याम्प ट्रेकिङ मार्गमा कभरेज दिइएको छ । त्यस्तै, ३,७०० मिटर उचाइको सिम्बोप्वा डाँडामा तीन वर्षको कठिन प्रयासपछि टावर स्थापना गरी भोटखोला गाउँपालिका र कोशी राजमार्गको माथिल्लो खण्डमा नेटवर्क पुर्याइएको छ । उत्तरी सीमा क्षेत्र किमाथांकामा पनि स्याटेलाइट टुजी हटाएर माइक्रोवेभ रेडियोमा आधारित फोरजी सेवा सुरु गरिएको छ ।
स्याटेलाइटमार्फत ३८ स्थानमा सेवा, बडिमालिका र सगरमाथामा तयारी
नेपाल टेलिकमले देशका विकट स्थानमा स्याटेलाइट प्रविधिमार्फत सेवा दिइरहेको छ । चालु आर्थिक वर्षमा डोल्पाको कुगाउँ र निजाल, दोलखाको ना–गाउँ र रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा थपिएको छ । हाल देशका ३८ स्थानमा स्याटेलाइट मोबाइल सेवा सञ्चालनमा छ, जसमा सबैभन्दा बढी १४ वटा साइट डोल्पा जिल्लामा मात्र छन् । यसबाहेक हुम्ला, मुगु, मनाङ, सोलुखुम्बु र दार्चुलाको टिंकर लगायतका क्षेत्रमा यसैमार्फत सेवा दिइएको छ ।
आगामी दिनमा बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४,२०० मिटर उचाइ) मा फोरजी विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ भने सगरमाथा आधार शिविर (EBC) क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ ।
स्थानीय जीवनस्तर र पर्यटनमा टेवा
दुर्गम क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले अनलाइन कक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल र विभिन्न अनलाइन सेवा सहजै प्रयोग गर्न पाएका छन् । यस प्रविधिले स्थानीय प्रशासन, सुरक्षा, स्वास्थ्य, शैक्षिक गतिविधिमा सघाउ पुर्याउनुका साथै पर्यटन प्रवर्द्धन र समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।फाेटाे-एआइ सिर्जित








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




