
काठमाडौं, ५ जेठ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको समग्र सुधारका लागि आफ्नो अवधारणा र कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उपस्थित भई उहाँले १८ महिनाभित्रै मुद्दाहरूको फर्स्यौट गर्नेदेखि न्यायाधीश नियुक्तिलाई पूर्ण रूपमा ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) मा आधारित बनाउनेसम्मका प्रतिबद्धताहरू व्यक्त गर्नुभएको हो ।
प्रविधिको प्रयोग र विशिष्टीकृत इजलास
प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्यका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने कार्ययोजना अघि सार्नुभएको छ । जसअनुसार मुद्दा दर्तादेखि फैसलासम्मको प्रक्रियालाई ‘इ-ट्र्याकिङ’ (विद्युतीय प्रणाली) मार्फत निगरानी गरिनेछ ।
उहाँले म्याद तामेली, साक्षी परीक्षण र प्रतिवेदन झिकाउने जस्ता कार्यहरू प्रविधिको प्रयोग गरी छिटो र छरितो बनाइने बताउनुभयो । यस्तै, पूर्वाधार विकास र कर राजस्व सम्बन्धी मुद्दाहरूको शीघ्र सुनुवाइका लागि विशिष्टीकृत न्यायाधिकरण वा डेडिकेटेड इजलासको व्यवस्था गर्ने प्रस्ताव उहाँको कार्ययोजनामा छ । फरक मुद्दा व्यवस्थापन पद्धति लागू गरी १८ महिनाभित्रै मुद्दाहरूको किनारा लगाउने लक्ष्य डा. शर्माले राख्नुभएको छ ।
न्यायाधीश नियुक्तिमा ‘मेरिटोक्रेसी’
न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिको प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउन वस्तुनिष्ठ मापदण्ड तर्जुमा गरिने डा. शर्माले स्पष्ट पार्नुभयो । संविधान र कानुनले तोकेको योग्यता, क्षमता र न्यायिक निष्ठाको मापनका आधारमा मात्र न्यायाधीश नियुक्ति गरिने र निश्चित कार्यतालिका बनाएर समयमै पदपूर्ति गर्ने उहाँको योजना छ ।
न्यायिक जनशक्तिको विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र राष्ट्रिय न्यायिक प्रतिष्ठानको पाठ्यक्रममा परिमार्जन गरी सीपमूलक तालिम प्रदान गरिने विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ ।
पीडितमैत्री न्याय र शून्य सहनशीलता
न्यायमा सहज पहुँच सुनिश्चित गर्न ‘क्षतिपूर्तिसहितको पीडितमैत्री न्याय प्रणाली’ को अवधारणा कार्यान्वयन गर्ने संकल्प डा. शर्माले व्यक्त गर्नुभयो । उहाँले न्यायपालिकामा हुने भ्रष्टाचार र विचलनलाई शून्यमा झार्दै न्यायिक सुशासन, उत्तरदायित्व र सदाचारको उच्चतम स्तर कायम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“मेरो नेतृत्वमा न्यायपालिका संविधानप्रति उत्तरदायी, नागरिकप्रति संवेदनशील र सबै प्रकारका प्रभाव एवं दबाबबाट मुक्त रहनेछ,” सुनुवाइ समितिमा डा. शर्माले भन्नुभयो ।
प्रत्येक दुई महिनामा प्रगति विवरण सार्वजनिक गरिने
आफ्नो कार्ययोजनाको कार्यान्वयन अवस्थाबारे आम नागरिक र सरोकारवालालाई जानकारी दिन सर्वोच्च अदालतको वेबसाइटमार्फत प्रत्येक दुई महिनामा प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता डा. शर्माले व्यक्त गर्नुभएको छ ।
उहाँले न्यायिक सुधारका लागि व्यवस्थापिका र कार्यपालिकाबाट आवश्यक कानुन निर्माण तथा स्रोत साधनको व्यवस्थापनमा सहयोगको अपेक्षा समेत गर्नुभयो । डा. शर्माले स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादन गरी अदालतप्रति जनआस्था अभिवृद्धि गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी हुने स्पष्ट पार्नुभएको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




