काँग्रेस भातृसंगठनको पोखरामा विरोध प्रदर्शन

-



     सफल आवाज    
     माघ १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसको १३ भातृ संगठनले सोमवार पोखरामा पनि संयुक्त रुपमा प्रदर्शन गरेको छ ।

चिप्लेढुंगाबाट निस्केको विरोध र्‍याली बजार परिक्रमा गरी महेन्द्रपुल पुगी विरोधसभामा परिणत भएको हो ।

संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड–१९ विरुद्धको प्रयासमा सरकार असफल भएको तथा जनसरोकारका विषयमा सरकारी उदासिनता बढेको भन्दै काँग्रेसका भातृसंगठनले विरोध जनाएका हुन् ।

विरोध प्रदर्शन क्रममा सहभागीले राष्ट्रपति विद्यादेवी तथा प्रधानमन्त्री ओली विरुद्ध चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधानसभा सदस्य शारदा पौडेल, वृन्दादेवी रानामगर, प्रदेश सांसद कुमार खड्का, काँग्रेस कास्कीका सभापति कृृष्ण केसी, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, महिला संघ कास्की अध्यक्ष कोपिला रानाभाट लगायतले बोलेका थिए ।