बुटवलका सबै वडामा सहजीकरण समिति

-



     सफल आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित



बुटवल, २० माघ । भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।

भूमिसम्बन्धी कामलाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक ढङ्गबाट गर्ने तथा पूर्जा वितरण गर्ने गरी कार्यढाँचा बनाइएको उपमहानगरका प्रमुख तथा नगरस्तरीय सहजीकरण समितिका संयोजक सुवेदीले उल्लेख गरे । सङ्घीय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीयस्तरको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनका चरणबद्ध काम शुरु भएको प्रमुख सुवेदीले बताए ।

उपमहानगरमा प्रमुख सुवेदीको संयोजकत्वमा नगरस्तरीय सहजीकरण समिति गठन भएको छ । उक्त समितिमा उपप्रमुख गुमादेवी आचार्य सहसंयोजक, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सदस्य सचिव छन् । समितिमा नगरस्तरीय राजनीतिक दल नेकपा, नेपाली कांग्रेस, जसपा, राप्रपा र राजमोका नगरका प्रमुख, नागरिक समाजबाट दुई र प्रमुखले तोकेका कार्यपालिका सदस्यबाट दुई गरी १२ सदस्य नगरस्तरीय सहजीकरण समिति गठन भएको छ ।

समस्यालाई जरैदेखि समाधान गर्ने र भूमिसम्बन्धी समस्या समाधान आयोगले जारी गरेको प्रमाणित कार्यविधि र भूमि ऐनका प्रावधानका आधारमा कामलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको समितिका सदस्य सचिव शर्माले जानकारी दिए । स्थानीय तहस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबसीको लगत सङ्कलन एकाई गठनसँगै बुटवल उपमहानगरका सबै वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका छन् ।