स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड बढी भुक्तानी

-



     सफल आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ असार । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ।

बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै यस भुक्तानीसँगै वि.सं. २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी बक्यौता फछ्र्यौट भएको जानकारी दिएको हो।

मंसिरपछिको भुक्तानीका लागि बजेट व्यवस्थापन हुँदै

बोर्डका अनुसार मंसिर महिना पछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ।

सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा हुने व्यक्तिगत खर्च (Out of Pocket Expenditure) न्यूनीकरण गरी वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको विज्ञप्तिमा उल्लेख छ।

उपचारमा अवरोध नगर्न स्वास्थ्य संस्थाहरूलाई अनुरोध

दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक संस्थाहरूलाई समयमै भुक्तानी गर्न कतिपय अवस्थामा असहज स्थिति सिर्जना भएको स्वीकार गर्दै बोर्डले यसप्रति आफू सजग रहेको जनाएको छ।

बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानीको प्रक्रिया जारी रहेकाले बिमित नागरिकहरूको उपचारमा कुनै पनि अवरोध सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराइदिन हार्दिक अनुरोध समेत गरेको छ।

बीमाको सही सदुपयोग गर्न बोर्डको अपिल

“स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुन्छ।” – स्वास्थ्य बीमा बोर्ड

साथै, बोर्डले बिमित सेवाग्राहीहरूलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सही सदुपयोग गर्न आग्रह गरेको छ। अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले विशेष अपिल गरेको छ।