२१ वाणिज्य बैंकको इपीएस घट्यो ६ बैंकको बढ्यो, कुन-कुन हुन बढ्ने बैंक ?

-



     सफल आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित



काठमाडौं,२१ माघ । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकहरुको इपीएस करिब १८ प्रतिशतले घटेको छ । २०७६ को दोस्रो त्रैमासिक प्रतिवेदनको तुलनामा २०७७ को दोस्रो त्रैमासिक प्रतिवेदनमा वाणिज्य बैंकहरुको इपीएस घटेको देखिएको हो ।

२०७६ पुस मसान्तमा वाणिज्य बैंकहरुको कुल प्रतिसेयर आम्दानी ६ सय ५९ रुपैयाँ १४ पैसा थियो । जुन चालु आवको पुस मसान्तमा १७.७४ प्रतिशत अर्थात् १ सय १६ रुपैयाँ ९८ पैसाले घटेर ५ सय ४२ रुपैयाँ १६ पैसामा सीमित भएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त अवधिमा ६ वटा बैंकको इपीएस बढेको छ भने बाँकी २१ वटा बैंकको इपीएस घटेको देखिन्छ ।

गत वर्षको तुलनामा यो वर्ष प्रभु बैंकको इपीएस सबैभन्दा धेरै बढेको छ । प्रभु बैंकको इपीएस २१.०२ प्रतिशत अर्थात् ४ रुपैयाँ ६५ पैसाले बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको २०.४३ प्रतिशत अर्थात् ३ रुपैयाँ ६३ पैसाले बढेर २१ रुपैयाँ ४० पैसा पुगेको छ । तेस्रो स्थानमा सिटिजन्स बैंक रहेको छ । सिटिजन्स बैंकको ११.७९ प्रतिशत अर्थात् १ रुपैयाँ ८८ पैसाले बढेर १७ रुपैयाँ ८३ पैसा पुगेको छ ।


साथै, सो अवधिमा नेपाल बंगलादेश बैकको १०.९७ प्रतिशत अर्थात् २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । एनएमबि बैंकको १०.७८ प्रतिशत अर्थात् २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ ।

कुमारी बैंकले ४.१६ प्रतिशत अर्थात् ७० पैसाले बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ । बैंकहरुकाे प्रति सेयर आम्दानीका आधारमा सेयर लगानीकर्तालाई प्रतिफल बढ्ने गरेको छ । दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार अगामी वर्ष अन्य २१ वटा बैंकको तुलनामा यी ६ वटा बैंकले सेयर लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने देखिएको छ ।