भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनमा १५ करोड लगानी गर्ने

-



     सफल आवाज    
     श्रावण ४ गते २०८३ मा प्रकाशित



काठमाडौं ४ साउन । भिजन लुम्बिनी ऊर्जा लिमिटेडले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि.मा १५ करोड लगानी गर्ने भएको छ। असार २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लगानी सम्बन्धी निर्णय गरेको हो।

यसअघि भिजन लुम्बिनी ऊर्जाले श्रेष्ठ इनर्जी सोलुसनद्वारा प्रवर्द्धित १३ मेगावाट क्षमताको ‘अपर सेती–१ जलविद्युत आयोजना’लाई आफ्नो २५ मेगावाटको ‘सेती नदी जलविद्युत आयोजना’को क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न सैद्धान्तिक सहमति प्रदान गरिसकेको थियो।

उक्त सहमति बमोजिम अपर सेती–१ जलविद्युत आयोजनालाई क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न तथा भिजन लुम्बिनी ऊर्जाका आवश्यक पूर्वाधार एवं सुविधाहरू उपयोग गर्न दिएबापत श्रेष्ठ इनर्जी सोलुसनबाट भिजन लुम्बिनीले १५ करोड रुपैयाँ प्राप्त गरेको थियो।

कम्पनीले श्रेष्ठ इनर्जीबाट प्राप्त सोही १५ करोड रुपैयाँ १३ मेगावाटको अपर सेती–१ जलविद्युत आयोजनाको द्रुत निर्माण तथा विकासका लागि पुनः श्रेष्ठ इनर्जी सोलुसनमै इक्विटी (शेयर) लगानीका रूपमा हाल्ने निर्णय गरेको जनाएको छ। यस सहकार्यले आयोजनाको निर्माण कार्यलाई थप गति दिने र दुवै कम्पनीका लागि व्यावसायिक लाभ पुग्ने अपेक्षा गरिएको छ।