पर्यटकीय नगरी पोखरामा बन्दको पूर्ण प्रभाव

-



     सफल आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित



पोखरा, २२ माघ । पर्यटकीय नगरी पोखरामा पनि बन्दको प्रभाव परेको छ । शिक्षण संघसंस्था, कलकारखाना, विद्यालय, व्यापारिक प्रतिष्ठान, पसल, यातायात बन्द छन् । बन्दका कारण सर्वसाधारणले दुःख बेहोर्नुपरेको छ । गन्तव्य पुग्न मानिसहरुले सडकमा पैदल हिडेको देख्न सकिन्छ ।

बन्द आह्वानकर्ताहरुले सडकका चोकचोकमा बसेर बन्द सफल पार्न नाराबाजी गरिरहेका छन् । उनीहरुले कोही व्यक्ति मोटरसाइकल, स्कुटरमा चढेको देखेमा एक्कासी बाटोमै रोकेर केराकार गर्ने गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षधरका नेता तथा कार्यकर्ता ठूलो संख्यामा चोकचोकमा खटिएका छन् । गण्डकी प्रदेश सांसद, प्रदेश तथा जिल्ला तहका इञ्चार्ज, अध्यक्षहरु चोकमा खटिएका छन् ।
गण्डकी प्रदेश विशेषतः नेकपामा ओली पक्षको बलियो प्रदेश मानिन्छ । ओली पक्षका कार्यकर्ताहरुले भने बन्द विरुद्ध  र्‍याली समेत प्रदर्शन गरेका छन् ।

प्रचण्ड–नेपाल पक्षधरले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने गरी असंवैधानिक कू गरेको भन्दै देशभर आमहड्ताल आह्वान गरेका हुन् ।