बाढीपहिरो प्रभावितलाई पहिचान गरेर बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित



काठमाडौं, १७ भदाै। नेपाल राष्ट्र बैंकले हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कागजात गुमाएका ग्राहकहरूलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

प्राकृतिक विपद्‌का कारण ग्राहकका चेकबुक, एटिएम कार्ड, मोबाइल फोन तथा अन्य आवश्यक कागजातहरू हराएको वा नष्ट भएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले यो सहजीकरणको कदम चालेको हो।

जारी सूचना अनुसार, बैंक तथा वित्तीय संस्थामा पहिले नै उपलब्ध रहेको हस्ताक्षरको नमुना (Signature Sample), फोटो तथा ग्राहकका अन्य व्यक्तिगत विवरणहरू (KYC Details) का आधारमा पहिचान यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न निर्देशन दिइएको छ।

बाढीपहिरोजस्ता प्राकृतिक विपद्‌को समयमा सर्वसाधारणलाई नगद तथा अन्य बैंकिङ सेवा प्राप्त गर्न कुनै सास्ती वा अभाव नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यो विशेष व्यवस्था लागू गरेको जनाएको छ।