
पोखरा, ७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुस २ गतेदेखि १३ गतेसम्म ‘२२औँ लेखनाथ महोत्सव २०८३’ सञ्चालन हुने भएको छ।
पोखरा महानगरपालिका वडा नं. २७ डाँडाकोनाक, तालचोकमा आयोजना हुन लागेको महोत्सवबारे जानकारी दिन सोमबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर्ण तयारी र विवरण सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण कार्य भए तापनि व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको बताइन्।
उनले बजारलाई गतिशील बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नु संघको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै महोत्सवले स्थानीय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने तथा क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रूपमा महोत्सव प्रयोग हुने अपेक्षा व्यक्त गरिन्।
त्यस्तै, संघका द्वितीय उपाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक ध्रुवबाबु भट्टराईले प्रेस विज्ञप्ति वाचन गर्दै वि.सं. २०५४ साल असार २० गते ८० जना सदस्यबाट स्थापना भएको संघले वि.सं. २०५९ र २०६० मा सुन्तला प्रदर्शनी हुँदै २०६१ सालमा सुपथ मूल्य बजारसँगै अनवरत रूपमा लेखनाथ महोत्सव सञ्चालन गर्दै आएको जानकारी दिए। समयसापेक्ष महोत्सवलाई परिमार्जन गर्दै नेपालकै उत्कृष्ट मेला महोत्सवका रूपमा स्थापित गराउन सफल भएको उनले बताए।
आयोजक, सहआयोजक र प्रायोजक “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवको सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। महोत्सवको प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् भने मुख्य प्रायोजकमा एग्रो थाई फुड्स प्रा.लि. (म्याक्स टाईगर–इनर्जी ड्रिङ्क्स) रहेको छ।
महोत्सवका मुख्य उद्देश्यहरू स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरूको बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ। यसका साथै आवश्यक ज्ञान, सीप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सृजनशीलता र स्वदेशी उत्पादनलाई जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, नवप्रतिभा प्रस्फुटन र आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
समिति गठन विवरण महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न हालसम्म विभिन्न समितिहरू गठन गरिएका छन्। जसमा १० जना निर्देशक, ५५ जना सल्लाहकार, ५० जना उप–समिति संयोजक, ९० जना कार्यसम्पादन समिति सदस्य, १२० जना मूल समारोह समिति सल्लाहकार र ३०० जना मूल समारोह समिति सदस्य रहेका छन्।
महोत्सवका प्रमुख आकर्षणहरू
- व्यापारिक तथा औद्योगिक प्रदर्शनी: औद्योगिक व्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न, फेन्सी, कस्मेटिक तथा श्रृंगार, विद्युतीय उपकरण, फर्निचर, भान्साका सामान, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रविधि तथा सञ्चारका उपकरणहरू, अटोमोबाइल, ग्रामीण प्रविधि र वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी।
- कृषि तथा स्थानीय उत्पादन: यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता र दुग्धजन्य उत्पादनको बिक्री एवं प्रदर्शनी।
- विशेष आकर्षण: एसियाको ज्योतिका रूपमा चिनिने शान्तिदूत गौतम बुद्धको प्रतिमा रहने।
- सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम: जातजातिको रीतिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली तथा भेषभूषा प्रदर्शनी, महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत, विद्यालयस्तरीय नृत्य कार्यक्रम, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ ब्यान्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य स्टेज सो, बाल उद्यान र फुड फेस्टिबल (खाना महोत्सव)।
- अन्य गतिविधि: कृषि, पर्यटन र उद्योग क्षेत्रसँग सम्बन्धित संवाद कार्यक्रम, कवि शिरोमणिको सम्झनामा साहित्यिक कार्यक्रम, महोत्सव प्रवर्द्धनसम्बन्धी टिकटक प्रतियोगिता, बृहत् साइकल र्याली र उत्कृष्ट स्टल पुरस्कार।
स्टल व्यवस्थापन र छुटको व्यवस्था महोत्सवमा कुल ३३५ वटा स्टल रहनेछन्। जसमा अटो प्रदर्शनी ६, शैक्षिक/ग्रामीण प्रविधि/कृषि प्रदर्शनी १३, कृषि तथा पशुजन्य वस्तु ४०, किचन सामग्री २६, मेसिनरी १२, हस्तकला प्रदर्शनी १४, जनरल स्टल २४, गार्मेन्ट तथा रेडिमेड कपडा र फुटवेयर ११२, फुड एण्ड बेभरेज प्रदर्शनी १८, डेरी प्रदर्शनी १३, नेपाली उत्पादन प्रदर्शनी १०, खाना महोत्सव १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजकअन्तर्गत ३० स्टल रहनेछन्।
संघका सदस्यहरूले स्वयं स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु. २,००० रकम छुट उपलब्ध गराइनेछ। सदस्यहरूलाई विशेष प्राथमिकतामा राखी मंसिर ७ गतेदेखि नै स्टल बुकिङ खुल्ला गरिएको छ भने अन्य सम्पूर्ण व्यवसायीहरूका लागि मंसिर ११ गतेदेखि बुकिङ खुल्ला गरिने विज्ञप्तिमा उल्लेख छ।
टिकट दर र आर्थिक अनुमान महोत्सव प्रवेशका लागि विद्यार्थीलाई रु. ५०, सर्वसाधारणलाई रु. १०० र सुगम संगीत (कन्सर्ट) का लागि रु. २०० टिकट दर कायम गरिएको छ। महोत्सवमा २ लाख ७० हजार दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च भई २० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ। बचत रकमबाट सात तालको संरक्षण तथा प्रवर्द्धन कार्यक्रम, नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यहरूमा खर्च गरिने संयोजक भट्टराईले जानकारी दिए।
अन्त्यमा, आयोजकले विगतका महोत्सवमा झैँ २२औँ लेखनाथ महोत्सव सफल पार्न सञ्चार माध्यम, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, उद्योगी व्यवसायी, राजनीतिक पार्टी, शैक्षिक तथा सामाजिक संघसंस्था, आमा समूह, युवा क्लब र सम्पूर्ण शुभेच्छुकहरूबाट अझ बढी सहयोग र क्रियाशीलताको अपेक्षा गरेको छ।








अन्ताल्या, ७ मङ्सिर । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न…
काठमाडौं, ७ मंसिर। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्ष २०८०/८१ को…
काठमाडौं, ७ मंसिर । अपि पावर कम्पनी लिमिटेड (API) को लाभांश सुरक्षित गर्ने आज अन्तिम…
ललितपुर, ७ मंसिर। नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत… 




