
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार) आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । शान्ति दीप अभियान, पोखराद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिट (आरदायु) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
विश्व शान्तिको कामना गर्दै आयोजना गर्न लागिएको कार्यक्रम भोलि २०८३ मंसिर ९ गते बुधबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम पोखरा–९ स्थित महेन्द्रपुल (हुलाक कार्यालयसँगै) मा आयोजना गरिने युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो), कास्की प्रादेशिक रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेको हो । आगामी मंसिर ९, १० र ११ गते तीन दिनसम्म अन्य नियमित रक्तदान कार्यक्रमहरू तय नभएका कारण रगतको चरम अभाव हुन सक्ने भन्दै प्रादेशिक रक्त सञ्चार सेवाका कार्यवाहक प्रमुख महेन्द्र केसीको विशेष आग्रह र जानकारीमा यो आकस्मिक रक्तदान कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
जीवनदान जस्तो पुण्य कार्यमा सहभागी भई रक्तदान गर्न तथा गराउन सम्पूर्ण पोखरेली एवं रक्तदाताहरूमा युनिटले हार्दिक अपिल गरेको छ ।
कार्यक्रम विवरण:
- आयोजक: आकस्मिक रक्तदान युनिट (आरदायु) / शान्ति दीप अभियान, पोखरा
- प्राविधिक सहयोग: नेरेसो, कास्की प्रादेशिक रक्त सञ्चार सेवा, पोखरा
- मिति: २०८३ मंसिर ९ गते बुधबार
- समय: बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
- स्थान: महेन्द्रपुल, पोखरा–९ (हुलाक कार्यालयसँगै)
रक्तदानले व्यक्तिहरूको अमूल्य ज्यान जाेगिन्छ
रक्तदानलाई ‘जीवनदान’ भनिन्छ किनकि तपाईंले दान गर्नुभएको एक पोका रगतले दुर्घटनामा परेका घाइते, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा थालासेमिया र क्यान्सर जस्ता जटिल रोगसँग लडिरहेका व्यक्तिहरूको अमूल्य ज्यान बचाउन सक्छ । कृत्रिम रूपमा रगत उत्पादन गर्न नसकिने भएकाले स्वस्थ मानिसले गर्ने रक्तदान नै बिरामीका लागि बाँच्ने एकमात्र आधार हो ।
अर्कोतर्फ, रक्तदान गर्नु केवल अरूको भलाइका लागि मात्र नभई स्वयं रक्तदाताको स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । नियमित रक्तदान गर्नाले शरीरमा नयाँ रक्तकोषिकाहरू बन्ने प्रक्रिया तीव्र हुन्छ, जसले शरीरलाई स्फूर्त राख्नुका साथै मुटुरोग र हृदयाघातको जोखिम कम गर्न मद्दत गर्छ । साथै, रगतमा आइरनको मात्रा सन्तुलित रहने र रक्तदान गर्नुअघि गरिने निःशुल्क स्वास्थ्य परीक्षणबाट आफ्नो स्वास्थ्य अवस्थाबारे समेत जानकारी पाइने भएकाले स्वस्थ व्यक्तिले हरेक तीन–तीन महिनामा रक्तदान गर्नु उत्तम मानिन्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप… 




