
ललितपुर, १० मङ्सिर। आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ ।
आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले आज संयुक्त रूपमा ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेका हुन् । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको थातथलोमा आयोजना सञ्चालन गर्न नपाउने बताउनुभयो ।
निर्देशिकामा आयोजना निर्माणअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने, सम्भावित लाभ र हानिबारे स्पष्ट जानकारी दिनुपर्ने तथा समुदायले आयोजना अस्वीकार गर्न सक्ने व्यवस्था छ । सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहनेछ ।
सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने तथा सहमति प्राप्त भइसकेपछि पनि प्रतिकूल असर देखिए आयोजना स्थगन गर्न सकिने व्यवस्था निर्देशिकामा समेटिएको छ । सहमति प्रक्रियाको सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले व्यहोर्नुपर्नेछ । निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ ।
कार्यान्वयनका क्रममा उत्पन्न विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि गरिएको छ । आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताउनुभयो । उहाँले यसलाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले महासङ्घले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरी सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले निर्देशिका कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



