
बागलुङ, १० मंसिर । बागलुङको बडिगाड गाउँपालिकाबाट जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका एक नवजात शिशुको हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ ।
बडिगाड गाउँपालिका वडा नं. १, दगातुङडाँडाकी ३६ वर्षीया तारा थापाको सामान्य प्रसूतिबाट जन्मिएको करिब ६ घण्टाको शिशुमा मेरुदण्डको झिल्ली बाहिर निस्किएको तथा फाटेको जटिल समस्या (Spina bifida with ruptured meningocele) देखिएपछि तत्काल उद्धार गरिएको हो ।
३८ हप्ता २ दिनको गर्भपछि जन्मिएका ३ हजार २ सय ग्राम तौलका ती शिशुको स्थानीय स्तरमा उपचार सम्भव नहुने र तत्काल थप उपचार नपाए ज्यान जोखिममा पर्नसक्ने अवस्था देखिएपछि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका आमा र नवजात शिशुलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा पुर्याई उपचार प्रक्रिया अघि बढाइएको छ ।
उक्त संवेदनशील उद्धार तथा उपचार व्यवस्थापनका लागि बुर्तिबाङ अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. विज्ञान लामिछाने, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा र जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय तथा सहजीकरण गरेका थिए ।
त्यस्तै, धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले प्राविधिक सुझाव प्रदान गरेका थिए भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले शिशुको थप उपचारको व्यवस्था मिलाइएको मन्त्रालयका कार्यक्रम अधिकृत तथा फाेकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिनुभयाे ।
प्रभावकारी भूमिका र संवेदनशीलतालाई उजागर
दुर्गम भेगमा देखा परेको यस्तो संवेदनशील र जोखिमपूर्ण अवस्थामा समयमै हेलिकप्टरमार्फत उद्धार गरी जीवन बचाउन प्रदेश सरकारले चालेको यो कदम अत्यन्त सराहनीय रहेको सरोकारवाला तथा स्थानीयवासीले बताएका छन् । यसले दुर्गम क्षेत्रका आमा र नवजात शिशुको आकस्मिक स्वास्थ्य सेवामा सरकारको प्रभावकारी भूमिका र संवेदनशीलतालाई उजागर गरेको छ ।






ललितपुर, १० मङ्सिर। आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित…
काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा… 



