सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

-



     सफल आवाज    
     फागुन ८ गते २०७७ मा प्रकाशित



बुटवल, ८ फागुन । रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ । सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ ।

उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन् । उक्त वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० बिघा जमिन रहेको बताइएको छ । सोमध्येको जमिनमा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा) को संलग्नतामा जमिन दुरुपयोग बढ्दै गएको स्थानीय सरकारले सुइको पाएपछि पालिकाले समुदायका अगुवा गुहार्दै काम थालेको छ ।

उनको भारतको उत्तरप्रदेशस्थित विहारको माधवपुरमा समेत घर रहेको छ । उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्रसमेत पालिकाले प्रमाणका रुपमा सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिए । वैष्णव (झा) ले जग्गा संरक्षणका नाममा आफूखुशी गर्ने, लिजमा दिएरसमेत गैरकानूनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गरेको थियो ।

स्थानीय अगुवाले पालिकाले शुरु गरेको संरक्षणलाई स्वागत गर्दै उनीहरुले संरक्षण गरेर जग्गाको सही सदुपयोग हुनुपर्ने, स्थानीय पालिकाको वैधानिक आयस्रोतका रुपमा विकास गर्नुपर्ने पनि माग गरेका छन् ।