सिभिल बैंकको साधारण सभा आज, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     फागुन ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ फागुन । सिभिल बैंकको १०औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई वितरण गरिने ८.४२ प्रतिशत लाभांश आज पारित गर्दैछ ।

साधारण सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारामा पूर्वान्ह ११ वजेदेखि बोलाईएको छ । सभामा अनलाइनमार्फत पनि सहभागिताको व्यवस्था मिलाईएको बैंकले जनाएको छ । सभामा माघको २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सहभागिता जनाउन र लाभांशका हकदार हुनेछन् ।

गएको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले १०औं साधारण सभाको मिति तोकेको थियो । समितिको निर्णय अनुसार सभामा आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.४२ नगदसमेत गरेर ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावित प्रस्तावलाई पारित गरिने भएको छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थाको प्राप्ति वा गाभ्ने गाभिने प्रक्रियाका लागि वित्तीय संस्थाको छनोट, सहमतिपत्रमा हस्ताक्षर गर्ने एजेण्डा पेश हुँदैछन् । राष्ट्रिय अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ताको नियुक्ती लगायतका विषयमा कार्य सम्पादनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा प्रस्तुत गर्न लागिएको छ ।

सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, वर्ष २०७६/२०७७ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा घाटाको हिसाब, नगद प्रवाह लगायतका वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने सूचि रहेको छ ।