
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वजको भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे ।
हाम्रा दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, “अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्न जरुरी छ ।” मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, “देश बनाउनुपर्छ र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् ।
देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।” बलिदानीपूर्ण कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनासहित सबैका भावनालाई मनमा राखेर हामीले राष्ट्रनिर्माणका काममा अग्रसर हुन जरुरी रहेको संस्थाका प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले बताए । समाज परिवर्तनका लागि पछौटेपनविरुद्ध ज्योति र अग्रगामी चेतनाका संवाहक भएर अघि बढ्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सामाजिक मर्यादा, इमान्दारी, नैतिकता, मानवीयता, राष्ट्रियताप्रतिको इमान नै सबैभन्दा महत्वपूर्ण हुन्, इमानबाट च्यूत मान्छे अपराधी मात्र हुन्छ ।”
प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने औँल्याए । प्रधानमन्त्री ओलीले अप्रत्याशितरुपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा, परोपकार, शान्तिका लागि सधैँ तत्पर र कर्तव्य निष्ठ भई चल्नुपर्छ भने ।
अहिले अनुकूलता छ प्रधानमन्त्री ओलीले भने, “अहिले अनुकूलता छ, सञ्चार र यातायात, विज्ञान र प्रविधिको हिजोभन्दा आज अत्यन्त छिटो कुनै पनि काम गर्न सक्छौँ । विकासका हिसाबले मुलुक प्रारम्भिक सिँंढीमा छ, अब हामी अघि बढ्नु छ, माथि चढ्नु छ, हाम्रो उद्देश्य एउटै, गन्तव्य एउटै हुनुपर्छ, समृद्ध नेपाल, सुखी नेपाली ।” आधा शताब्दी इतिहास बोकेको राष्ट्रिय सेवा दलको प्रयासको सिलसिला अहिले मुलुकको परम्परा र थिति बनेको बताउँदै उनले सेवा दलका योगदानलाई सम्मानपूर्ण ढङ्गले अघि बढाउनुपर्छ भने ।
विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत छात्रछात्रालाई अनुशासित बनाई देश र जनताप्रति बफादार, राष्ट्रिय एकताको भावना विकास, नेतृत्व क्षमता अभिवृद्धि र अनुशासित नागरिक उत्पादन गर्न २०२२ सालमा राष्ट्रिय सेवा दलको गठन गरिएको थियो । प्रधानमन्त्री ओलीले भने, “सेवा दलबाट प्रदान गरिने सैन्य तालीम भनेको केवल हतियार चलाउन मात्र सिकिने होइन, अनुशासन, राष्ट्रिय एकता, राष्ट्रिय एकताको भावना सिकाइन्छ, जुन मुलुकका लागि निकै महत्वपूर्ण छ, त्यसका लागि संस्थाका विगतका कामको म प्रशंसा गर्न चाहन्छु ।”
आर्थिक वर्ष २०७६ । ७७ मा मुलुकका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दलको तालीम सञ्चालन भएको र हाल वार्षिकरुपमा सात हजार ७०० जनालाई तालीम प्रदान गरिँदै आएको बताइएको छ । सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेवा दलबाट उत्पादित अनुशासित र बफादार जनशक्तिलाई आपत्कालीन एवं सङ्कटका अवस्थाबाहेक विकास र समृद्धिका कार्यक्रममा समेत सहयोगी जनशक्तिकारुपमा राज्यले परिचालन गर्न सक्ने बताए ।
सेवा दलका महानिर्देशक एवं पूर्वरथी रघु भण्डारीले मुलुकको धर्म, संस्कृति, रीतिरिवाज, पहिचान, इतिहास, विभूति एवं वीर पुर्खालाई सहृदय सम्मान गर्ने, राष्ट्रियता, अखण्डता एवं स्वाधीनतालाई प्राण सम्झने तथा नैतिक र राष्ट्रपति समर्पित, अनुशासित र बफादार जनशक्ति तयार गर्ने कार्यलाई संस्थाले शिरमा राखेर काम गरिरहेको बताए ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



