खुसीयालीमा दाहाल–नेपालले खुवाए लड्डू

-



     सफल आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित



चितवन, ११ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरूले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

अध्यक्ष दाहालले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै यो जनताको जित भएको बताए ।

उनले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता आग्रहसमेत गरे । अध्यक्ष नेपालले अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने फैसला गरेर आफ्नो गरिमालाई बढाएको प्रतिक्रिया दिए । उनले भने, “अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको छ ।”

प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशको पनि इज्जत र प्रतिष्ठा बढाएको बताउँदै नेता नेपालले आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई न्यायाधीशहरूले सही ढङ्गले अगाडि सार्ने काम गरेकोे बताए ।

यसैबीच अध्यक्षद्वयले एकार्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् ।

फैसलापछि जिल्लाका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ । अध्यक्षद्वय बुधबार हुने कार्यक्रममा सहभागी हुन चितवन आएका छन् ।