‘घर अगाडी फाेहाेर फालेर महानगरकाे साैन्दर्य बढ्दैन, हातेमालाे गराैं’ : मेयर जिसी

- प्रकृति उद्यान नदीपुरमा खुल्ला व्यायामशाला खुल्याे

-



     सफल आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ फागुन । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगरलाई स्वच्छ, हराभरा राख्ने दायित्व सबै नागरिकको भएकोले सबैको हातेमालो हुन जरुरी भएको बताएका छन् ।

यहाँ सडकमा साढे २ करोडको गाडी चढेको देखिन्छ, हामी चढ्छौं तर आफ्नौ घरको दैलोमा, घरको गेटै अगाडी र बाटोमा फोहोर फालेको देखिन्छ । मेयर जिसीले भने, महानगरलाई हामी सबैले मिलेर सफा राख्ने हो, सौन्दर्य बढाउने कार्य गर्ने हो, बाटोमा फोहोर फाल्ने होईन ।

आज पोखरा नदीपुर ३ स्थित सूर्योदय युवा क्लवले बनाएकाे प्रकृति उद्यानमा निर्माण गरेको खुल्ला व्यायामशालाको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर जिसीले महानगरका १५ स्थानमा व्यायामशाला निर्मााण भएको र अन्य ठाउँमा पनि बिस्तारको प्रक्रियामा रहेको बताए । उनले महानगरवासीको स्वास्थ्यका लागि आफुहरु प्रतिवद्ध रहेको बताउँदै स्वस्थ खानपान गर्न, व्यायाम गर्न र घर घरमा काैशी खेती गर्न सल्लाह दिए । उनले भने, पोखरामा ५० करोडको कौशी खेती गर्न सकिने भएकोले यसतर्फ लाग्न आग्रह गरे ।

वडा नं ३ का अध्यक्ष रवीन्द्र बहादुर प्रजुले प्रकृति उद्यान तथा सूर्योदय यूवा क्लवको हातामा निर्माण गरिएको खुल्ला व्यायामशाला वालवालिका, युवा तथा प्रौढका लागि लक्षित गरिएकोले यसबाट फाईदा लिन आग्रह गरे । उनले महानगरसंग समन्वय गरेर छिट्टै वडाका ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाईने बताए ।

वडा नं १ की अध्यक्ष शारदा पराजुलीले विकास निर्माणमा राजनीतिक पूर्वाग्रह नराखेर काम गर्नुपर्नेमा जोड दिईन । उनले वडा नं ३ संग १ को हातेमालो र सहकार्य राम्रो भएको बताईन ।

प्रकृति उद्यान निर्माण समितिका संयोजक सहदेव वानियाँले पार्कमा व्यायामशालाको निर्माणको लागि महानगरबाट ८ लाख ६८ हजार सहयोग दिने बचनवद्धता भएको र त्यो आउने क्रममा रहेको बताए । उनले जनस्तरबाट संकलन भएको १ लाख बढी रकम गरी झण्डै १० लाख खर्च भएको बताए । सोहि अवसरमा उनले प्रकृति उद्यानको दक्षिण कुनामा निमार्ण सम्पन्न हुने चरणमा रहेको वाचनालय २० लाखको लागतमा बन्न लागेको बताए ।

प्रकृति उद्यान निर्माण समितिका सदस्य यशोदा गौतमले सूर्योदय युवा क्लवको अग्रसरतामा प्रकृति उद्यान बनेको र उद्यानमा खुल्ला व्यायामशाला पनि निर्माण भएको बताउँदै अब वाचनालय निर्माणको काम अन्तिम चरणमा रहेको बताईन ।