नेप्सेद्वारा सूचीकृत समूहहरुको विभाजन र हेरफेर, निफ्रा र चन्द्रागिरी कता परे ?

-



     आरजू विष्ट सल्यानी    
     फागुन १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेपाल स्टक एक्सचेन्जले फागुन १६ गते आईतबारदेखि लागू हुने गरी केही सूचीकृत कम्पनीहरुको समूह विभाजन, हेरफेर तथा नयाँ समूहको ब्यवस्थापन मिलाएको जानकारी गराएको छ । नेप्सेको नयाँ सूचीकरणको ब्यवस्था अनुसार समूहगत परिसूचक गणना पनि शुरु भएको बताईएको छ ।

अहिले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको संख्या २१८ रहेको छ । यी कम्पनीहरुलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गर्दै आएको अवस्था थियो । अब लगानी समूह पनि थपिएको छ भने समूह संख्या १२ नै बनाई समूहगत परिसूचक कायम गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् ।

परिवर्तन भएको नयाँ ब्यवस्था अनुसार आगामी दिनमा नेप्सेले म्युचुअल फण्ड, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट तथा समग्र बजार परिसूचक नेप्से गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड ब्यवस्थापनको यही फागुन ७ गते भएको निर्णय अनुसार फागुन १६ गते आईतबारदेखि लागू हुने गरी केहि सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको ब्यवस्था गरिएको हो ।

नेप्सेका अनुसार साविकको अन्य समूहमा रहेका ८ वटा कम्पनीमध्येबाट ४ वटा कम्पनीलाई लगानी समूहमा राखी नयाँ समूह बनाईएको छ । यस्तै साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको छ । यो समूहमा चन्द्रागिरी हिल्स लिमिटेडलाई राखिएको छ ।

नयाँ समूह विभाजनको ब्यवस्थाबाट समूह विभाजनलाई सहज बनाउने नेप्सेले विश्वास लिएको जनाएकाे छ ।

लगानी समूहमा राखिएका कम्पनीहरु :

१. सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, संकेत(सिआइटी)
२. हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, संकेत(एचआइडिसीएल)
३. नेपाल इन्फ्रास्टेरक्चर बैंक लिमिटेड, संकेत(एनआइएफआरए)
४. एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट
लिमिटेड, संकेत(एनआरएन)

होटल्स तथा पर्यटन समूहमा राखिएका कम्पनीहरु :

१. ओरियन्टल होटल्स लिमिटेड, संकेत(ओएचएल)
२. सोल्टी होटल लिमिटेड, संकेत(एसएचएल)
३. तारागाउँ रिजेन्सी होटल लिमिटेड, संकेत(टिआरएच)
४. याक एण्ड यती होटल लिमिटेड, संकेत(वाइएचएल)
५. चन्द्रागिरी हिल्स लिमिटेड, संकेत(सिजीएच) मा रहेका छन् ।

नेप्सेद्वारा प्रकाशित बिज्ञप्ति