नागरिक लगानी कोषले आजदेखि लिलामी शेयर बिक्री खुला गर्दै

-



     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ फागुन । नागरिक लगानी कोषले आजदेखि लिलामी शेयर बिक्री खुला गर्दैछ । कोषले शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो । कोषका अनुसार यसअघि बिक्री नभएको ३ लाख ५४ हजार २५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो ।

कोषले गएको पुस २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । शेयर लगानीकर्ताहरुले आजदेखि चैत्र महिनाको २ गतेसम्म लिलामी शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रहेकोमा शेयर लागनीकर्ताहरुले १०० वा त्यसभन्दा माथिको मूल्य राखेर आवेदन गर्नुपर्नेछ । न्यूनतम १० कित्ता देखि बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ ।

आवेदनका लागि शेयर लगानीकर्ताहरुले नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ टेकु काठमाडौं, नागरिक लगानी कोषको कार्यालय बानेश्वर काठमाडौं, शाखा कार्यालयहरु मोरङ र कास्कीबाट आवेदन पेश गर्न सक्ने भएका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु बीरगञ्ज, पर्सा, जनकपुर, धनुषा, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर सुर्खेत, धनगढी, विर्तामोड, झापा, हेटौंडा, दाङ र महेन्द्रनगरबाट आवेदन पेश गर्नसक्ने भएका छन् ।