सर्वोच्चको फैसला ऋषि कट्टेलको पक्षमा

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्चमा रिट दिएका थिए ।

यसैबीच, यो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला भएको हो ।

सर्वोच्च ती राजनीतिक दलले एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दर्ता गर्न निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ ।