ज्योति लाइफको आइपिओमा बढ्यो आकर्षण, कतिले दिए आवेदन ?

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा आबेदन दिने शेयर लगानीकर्ताहरुको संख्या १४ लाख नजिक पुगेको छ । कम्पनीले फागुन २१ गतेबाट आइपीओ खुलाएकोमा सोमबार बेलुकीसम्म आइपीओ भर्नेहरुको संख्या १३ लाख ७६ हजार ७६१ पुगेको जनाईएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार अहिलेसम्म २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन पेश भएको छ ।

ज्योती लाइफको आइपीओ भर्ने समय फागुन २६ गतेसम्म रहेको छ । शेयर लगानीकर्ताले ढीलोमा चैतको ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० देखि ६६ हजार कित्ता सम्मको लागि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको १०० रुपैयाँ अंकित दरले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको थियो । जस्मा ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोष, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि रहेको छ ।