केदारेश्वरमा शिवरात्रिमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

-



     सफल आवाज    
     फागुन २७ गते २०७७ मा प्रकाशित



पोखरा, २७ फागुन । पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पछिल्लो समय भक्तजनहरुको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । चाहे साउन सोमबार बोलबम होस् वा शिवरात्रिको दिन वा अन्य कुनै चाडपर्वमा यहाँ दर्शन गर्ने दर्शनार्थीको बिहानदेखि साँझैसम्म घुइँचो लाग्दछ ।

यसैक्रममा शिवरात्रि पर्वको अवसरमा पोखरा ६ बैदामस्थित केदारेश्वर मन्दिरमा १ सय ८ शिवलिंगमा जल चढाउन तथा भगवान् शिवको पूजाआराधना गर्नका लागि पोखरासहित छिमेकी स्थानबाट बिहीबार बिहानैदेखि मानिसहरु आएका हुन् ।

भक्तजनको अत्यधिक भीडका कारण व्यवस्थापनमा समस्या भएको केदारेश्वर महादेवमणि मन्दिर संरक्षण समितिले जनाएको छ । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाइएको हो । दर्शनार्थी दिउँसोसम्म पनि लाइनमा देखिन्छन् ।

साउनको सोमबार झैं भक्तजन आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले बताए । साउन सोमबारमा बोलबम मनाउन यस मन्दिरमा ठूलो भीड लाग्ने गर्दछ ।

मन्दिरका चारैतिरबाट ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजनकीर्तन गरी नाचगान समेत गरेका थिए ।