रुपा गाउँपालिकामा महिला अधिकार तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित



पाेखरा, २८ फागुन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा रुपा गाउँपालिकाको आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यालय र सगोल कास्कीको सहकार्यमा महिला अधिकार तथा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ ।

रुपा गाउँपालिका–६ भिरचोकमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ता तथा सहभागीहरुले महिलाले आफ्नाे अधिकारलाई उपयोग गर्न अगाडी बढ्नुपर्ने धारणा राखे । अखिल नेपाल महिला संघकी नेतृ तथा पूर्व माननीय टुका हमालले नेपालको राजनितिक आन्दोलनको परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताइन । उनले अहिले हरेक तहमा महिलाको सहभागीता बढेको बताउँदै नेतृत्व क्षमतालाई बिकास गर्दै अगाडी बढ्नुपर्ने बताइन ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिका विनियोजित महिला लक्षित बजेट र कार्यक्रमहरुको उपयोग गर्न आग्रह गरे । उनले महिला अगाडी नबढ्ने हो भने समाजको सकरात्मक बिकासको गति सुस्त हुने भएकाेले नेतृत्व र क्षमता विकासमा लाग्न आग्रह गरे । महिलाहरुको नेतृत्व क्षमता विकासका लागि गाउँपालिकाले प्रत्येक वडामा वडा स्तरिय कार्यक्रम समेत संचालन गरेको उनको भनाइ थियो । रुपा गाउँपालिका सदैंव महिला अधिकारका सवालमा संवेदनशिल रहेको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले निति र कार्यक्रमबाट विनियोजन भएका महिला लक्षित कार्यक्रम प्रति महिलाहरु कै चासो आवश्यक रहने बताउँदै महिलाहरुको सिप तथा क्षमता बिकासका लागि गाउँपालिका सदैव तयार रहेको भनाइ राखिन । उनले समुह वा संस्थाका पदमा बस्ने मात्रै नभइ नेतृत्व क्षमतालाई बिकास गर्दै समाज परिर्वतनको यात्रामा महिलाहरु लाग्नुपर्ने बताइन ।

अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य कृष्णा श्रेष्ठले आफ्नो क्षमतालाई बाहिर प्रस्फुटन गर्न डराउन नहुने बताइन । उनले गाँउपालिकालाई परेको बेलामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन । सगोल कास्कीका अधिकृत बिमला केसीले घरबाटै छोराछोरीको बीचमा हुने विभेद हटाउनुपर्ने बताइन । उनले जहाँ विभेद हुन्छ, त्यहाँबाट हिंसाको सुरुवात हुने बताउँदै विभेद अन्त्यका लागि पहल र प्रयास गरिनुपर्ने भनाइ राखिन ।

कार्यक्रममा इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्माले महिला अधिकार सम्बन्धी कार्यपत्र प्रस्ततु गर्दै महिला सहभागीतामा सकरात्मक परिर्वतन आएतापनि अझै पर्याप्त नभएको बताइन । राज्यले अन्तराष्ट्रिस्तरमा गरेका विभिन्न सन्धी, अभिसन्धि, महासन्धि र प्रस्तावहरुको कार्यान्वयन गर्नको लागि सवैलाई जानकारी गराइन । उनले अधिकार प्राप्त गर्ने मात्र नभइ त्यो सही उपयोग गर्न सकेमा मात्रै परिर्वतनको महसुश गर्न सकिने बताइन ।

कार्यक्रममा रुपा गाउँपालिका सातवटै वडाका आमा समुह, जनप्रतिनिधि, संघसंस्थाबाट प्रतिनिधित्व गर्ने महिलाहरुको सहभागीता रहेको थियो ।

यसैगरि रुपा गाउँपालिकाका सबै वडामा महिला अधिकार तथा क्षमता अभिबृद्धी सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएकाे छ । वडा स्तरीय कार्यक्रममा महिलाहरूले आफ्ना कानुनी समस्याहरू खुलस्त रुपमा ब्यक्त गर्न सकुन भनेर ७ वटै वडाहरुमा महिला अधिवक्ताहरु तथा महिला अधिकारकर्मीहरुलाई प्रशिक्षकको रुपमा आमन्त्रण गरिएको थियो। पहिलो शत्रमा महिला अधिकारका बिषयबारे स्पस्ट पारिएको थियो ।

दोश्रो शत्रमा आर्थिक, सामाजिक, सांस्कृती र राजनैतिक क्षेत्रमा महिलाहरु कसरी अघि बढ्न सक्छन भन्ने बारेको सहजीकरण गरिएकाे थियाे । तेस्रो शत्रमा छलफल मार्फत महिलाहरुसंग उपाध्यक्ष कार्यक्रम नामक आय आर्जनरुपी कार्यक्रमका लागि गाँउपालिकाले बजेट बिनियोजन गरेको र बजेटको उपलब्धिमूलक ढङबाट परिचालन गर्न सहभागीहरुबाटै कार्यक्रम छनौट गर्न लगाइएको कार्यक्रमका संयोजक सामाजिक बिकास शाखा प्रमुख सीता सापकोटाले बताइन ।

कार्यक्रममा १ देखी ७ वटै वडाका सचिवहरु सुजन तिवारी, राजेन्द्र सुवेदी, कृष्ण शर्मा, राजु पौडेल, यमुना ढकाल, बृहस्पति अधिकारी, महेश लामिछाने लगायतको सहभािगता थियाे । वडा अध्यक्षहरुद्वारा कार्यक्रमको अध्यक्षता र वडा सचिवहरु वडागत कार्यक्रमहरुको बारेमा प्रकाश पारिएको थियो ।

कार्यक्रमका प्रशिक्षकहरुमा कुन्जनी परियार, कन्चन गुरुङ, खिमा गुरुङ, शान्ती गुरुङ, सबनम शर्मा, अन्जना बराल र तारा शर्मा रहेका थिए । कार्यक्रममा महिला सन्जाल, आमा समुहका प्रतिनिधि, लक्षित बर्गका प्रतिनिधिहरु गरी प्रत्येक वडामा ५०/५० जनाको सहभागिता रहेको थियो ।