दमौलीमा खुल्यो माँ अम्बे पूजा सामग्री उद्योग, ५०० महिलालाई रोजगारी दिने लक्ष्य

-



     सफल आवाज    
     चैत्र १ गते २०७७ मा प्रकाशित



दमौली, १ चैत । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याएकी छन् । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याएकी हुन ।

उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिइन । उनका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरी काठको दाउरा, पोते, डोरी, टीकालगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ । “निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ”, गौलीले भनिन् । उक्त उद्योगबाट ५०० महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको उनले बताइन ।

दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेका दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ । हाल बजारमा दुना टपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “फुर्सदिला कम्तीमा ५०० महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका पूजा सामग्रीको हाते उद्योग सञ्चालन गरेको हुँ”, गौलीले भनिन् ।