शेयर बजारमा एकछत्र हरियाली, नेप्से ४०.४० अंकले बढ्यो,

-



     सफल आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ चैत । साताको चौथो दिन बुधबार आज शेयर बजारमा एकछत्र हरियाली छाएको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबारबाट सुधारको संकेत दखिएको थियो ।

आज नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । नेप्से आज १.६९ प्रतिशतले बृद्धि भएको हो । यस्तै सेन्सेटिभ इण्डेक्स ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ ।

आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । ८६ लाख २६ हजार ६६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार शेयर कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । अर्थात उनीहरु सबैको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह गरी १३ वटै उपसमूहको शेयर बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सबैभन्दा बढी शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । क्रमशः नेपाल लाइफको १८ करोड, एचआइडिसिएलको १६ करोड, माथिल्लो तामाकोशीको १४ करोड र नेपाल टेलिकमको झण्डै १२ करोडको शेयर कारोबार भएको छ ।