नेप्सेद्वारा निफ्रालाई तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन, के हो कारण ?

-



     सफल आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ चैत । धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने खालको सूचना बाहिर आएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्टेरक्चर बैंकसंग स्पष्टिकरण मागेको छ । साथै नेप्सेले बैंकलाई तीन दिनभित्र स्पष्टिकरणको जवाफ फर्काउन निर्देशन दिएकाे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हालै एउटा कार्यक्रममा बैंकले १० प्रतिशत लाभांशसहित ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भईरहेका कुराहरु व्यक्त गरेका थिए ।

उनको सार्वजनिक रुपमा व्यक्त भएको लाभांश सम्बन्धी सूचनाको कारण बजार प्रभावित भएकोले स्पष्टिकरण माग्नु परेको हो । यस आर्थिक वर्षमा लण्डन स्टक एक्सचेन्जमा बन्ड स्वीकृत गर्ने तयारी भईरहेको भन्ने खतिबडाको भनाईलाई लिएर नेपाल स्टक एक्सचेन्जले स्पष्टिकरण मागेको हो ।

नेप्सेले खतिबडाद्वारा व्यक्त सूचनाको सत्यताबारे प्रश्न उठाएको छ । साझेदारको विषयमा को को संग कस्तो छलफल भईरहेको हो ? बन्डको बारेमा छलफल के भएको हो ? लगायतका विषयहरुमा प्रश्न गर्दै नेप्सेले स्पष्टिकरण मागेको छ ।