सर्वोत्तम सिमेन्टले थाल्यो ६० लाख कित्ता आइपीओ निष्काशनको तयारी, ३५ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ चैत । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने तयारी गरेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रहेकोमा त्यसको १५ प्रतिशतले हुने ६० लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो ।

कुल ६० लाख कित्ता शेयरमध्ये २५ लाख कित्ता शेयर सर्वसाधारणका लागि, ३ लाख कित्ता कर्मचारीको लागि, स्थानियका लागि ८ लाख कित्ता र २४ लाख कित्ता शेयर संस्थागत लगानीकर्ताका लागि रहेको छ ।

सर्वोत्तम सिमेन्टको साधारण शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । यस्तै प्रभु क्यापिटल र एनआइबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको साधारण शेयर बुक विल्डिङ प्रणालीमा हुनेछ । शेयर मूल्य घटीमा ७५० रुपैयाँ हुनेछ भने बढीमा ९०० रुपैयाँसम्म पुग्न सक्ने जनाईएको छ । कम्पनीका अनुसार अबको तीन महिनामा लगानीकर्तालाई ३५ प्रतिशत लाभांश प्रदान गरिने भएको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनश शेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।