सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित



देउखुरी, ७ चैत । घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् ।

रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने माग दाबी गरेका छन् । सगरमाथा सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अदालतको कारण देखाउ आदेश उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधिश नीता गौतम दीक्षितको एकल इजलासले सिमेन्ट उद्योग, सञ्चालक समितिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, उपमहानगरपालिका र नगरप्रमुखका नाममा १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ ।

त्यसैगरी निवेदकले अन्तरिम आदेशसमेत माग गरेकाले विपक्षीलाई यही चैत ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको उच्च अदालतले जनाएको छ । उपस्थित हुँदा २०७२ भदौ ३२ गते सिमेन्ट उद्योग र स्थानीयबीच भएको सहमतिअनुसार काम भएको भए सोको प्रतिवेदन, दैनिकरुपमा निस्कने धुलो, धुवाँ, ध्वनि प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका काम कारवाहीको विवरणसहित उपस्थित हुन भनिएकाे छ ।

त्यसैगरी वातावरण संरक्षणका लागि जिल्लामा वातावरणीय समिति गठन भएका छन् वा छैनन्, वातावरण संरक्षणका लागि हालसम्म भएका काम कारवाही र प्रदूषण राकथाम तथा नियन्त्रणका लागि वातावरण निरीक्षक नियुक्त गरिएको छ या छैन सोको सक्कल विवरणसहित छलफलमा उपस्थित हुन आदेशमा भनिएको छ ।