सनराइज ब्लूचिप फण्डमा लगानीका लागि थपियो आवेदन दिने म्याद चैत १६ गतेसम्म

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ चैत । सनराइज क्यापिटल लिमिटेडले चैत १ गतेदेखि खुला गरेको सनराइज ब्लूचिप फण्ड’ को १० करोड इकाईको बिक्रीको लागि आवेदन दिने म्याद चैतको १६ गतेसम्म थप गरिएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत ल्याईएको उक्त योजनाका लागि यसअघि लगानीकर्ताले छिटाेमा चैत्र ४ गतेसम्म आवेदन दिन सक्ने बताईएको थियो ।

आवेदनका लागि लगानीकर्ताले चैत १६ गतेसम्म सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा, मेरोशेयर एप्सबाट इकाईका लागि आवेदन दिन सक्नेछन् । सनराइज क्यापिटलले प्रतिइकाई १० को दरले १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोषको प्रवर्धक सनराइज बैंकका लागि छुट्याईएको छ । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको जनाईएको छ । क्यापिटलका अनुसार माग गरेको आवेदनभन्दा बढी संख्यामा आवेदन पेश भएको खण्डमा चैत १६ अगाडी नै बिक्री बन्द गरिने भएको छ ।

आवेदन दिन पाउने न्यूनतम इकाई संख्या १०० रहेको छ । लगानीकर्ताले अधिकतम आवेदन दिन पाउने इकाई संख्या १ करोड रहेको छ । बिक्रीबाट जम्मा भएको रकमको १०० प्रतिशतसम्म शेयरमा लगानी हुने भएको छ । यस योजनामा कोषको प्रवर्धक रहेको सनराइज बैंकले बिक्री गर्ने जम्मा इकाईको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ सिडमणिको रुपमा लगानी गर्ने भएको छ ।

यो योजना एउटा सामुहिक लगानी कोषको योजना हो । ब्लुचिप भन्नाले लगातार उच्च प्रतिफल दिने र दीर्घकालमा बजारभन्दा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरु हुन । योजनाको प्रमुख लगानी उदेश्य मुख्यतया ब्लुचिप ठूलो बजार पूँजीकरण भएका कम्पनीहरु । उदीयमान ब्लुचिप कम्पनीहरुको इक्विटी तथा इक्विटीसंग सम्बन्धित धितोपत्रहरुमा लगानी गरि दीर्घकालिन पूँजीगत लाभ लिनु रहेको छ ।

यो योजना उच्च बजार पूँजीकरण भएका, बलियो वित्तीय अवस्था र नियमित र नियमित लाभांश भुक्तानी गर्ने क्षमता भएका कम्पनीहरुको धितोपत्र लगानी गर्न इच्छुक व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुको लागि उपयुक्त रहेको छ ।

साधारणतया सनराइज ब्लूचिप फण्ड विभिन्न कम्पनीहरुका शेयर तथा डिवेन्चरहरुको संयोजन रहेको बताईएको छ । यसले ब्लुचिप कम्पनीहरुका शेयरहरुमा अधिकांश लगानी गर्दछ । सनराइज ब्लूचिप फण्डको लगानी नेप्से र कम्पनीको आफ्नो स्टक ग्रेडिङ पोलिसिद्वारा परिभाषित ए श्रेणी कम्पनीका शेयरहरुमा केन्द्रित रहने गर्छ ।

कोषको सुपरिवेक्षकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, पूर्व गृहसचिव चण्डीप्रसाद श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, चार्टड एकाउन्टेन्ट, नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र चार्टड एकाउन्टेन्ट सि.ए सुधिर कुमार शर्मा रहेका छन् ।

योजनाको प्रवर्धकमा सनराइज बैंक रहेको छ ।