कास्कीमा पत्रकार परिवारको समेत स्वास्थ्य बीमा

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



पोखरा, १० चैत । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार र उीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा शुरु गरेको छ ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । सो सेवाको महानगरका मेयर मानबहादुर जिसीले शुभारम्भ गरेका छन् ।

अग्रज पत्रकार बद्रीविनोद प्रतीक र उनकी श्रीमती सावित्री खनाललाई बीमा परिचयपत्र हस्तान्तरण गरेर प्रमुख जिसीले बीमाको कार्यक्रम शुभारम्भ गरे ।

बीमा कार्यक्रमअन्तर्गत परिवारका ५ जना सदस्य रहेका पत्रकारको वार्षिक ३ हजार ५ सय भुक्तानी महासंघबाट गरिने र परिवारका सदस्यले वार्षिक १ लाखसम्मको स्वास्थ्योपचार सुविधा बीमाबाट प्राप्त गर्ने शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार देशमै पहिलोपटक सुरु सो कार्यक्रममा शाखामा आबद्ध ३ सय जना पत्रकारको परिवारका सदस्यको बीमा गरिनेछ । पाँच जनामाथिको परिवारका सदस्यका लागि प्रति सदस्य ७ सय भुक्तानी गरिने बताइएको छ ।

महानगरले स्थापना गरेको पत्रकार कल्याणकारी कोषअन्तर्गत अघिल्लो आर्थिक वर्षमा ४५ लाख बजेट निकासा भएको र चालु वर्षमा २० लाख थप गरेर ६५ लाख पु¥याइने र सोको ब्याजबाट पत्रकारका परिवारको बीमा गरिने महासङ्घले जनाएको छ । सो कोषलाई वृद्धि गरी १ करोड बनाउन महानगरसँग आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

मेयर जिसीले आफूू निर्वाचित भएर आएपछि पत्रकारका लागि देखिने गरी उपलब्धिमूलक काम गर्ने योजना रहेको स्मरण गर्दै स्वास्थ्य बीमा कार्यक्रमबाट पत्रकारसहित उनीहरुका परिवारलाई समेत सहयोग मिलेको बताए ।

स्वास्थ्य बीमा बोर्ड गण्डकीका प्रमुख जीवलाल खरेलले प्रदेश प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा कार्यक्रम लागू भएको भन्दै हालसम्म कार्यक्रम प्रभावकारीरूपमा अघि बढेको जानकारी दिए ।